
काठमाडौं,११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै जवाफ दिनुभएको छ ।
व्यस्तताको कारण प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन नभ्याएपछि प्रचण्डले मात्रै जवाफ दिनुभएको हो । ओलीले भोलि मात्रै जवाफ दिने तयारी भएको छ ।
गत पौष २ गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति बैठकमा उठेका प्रश्नहरु जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभयो ।
अध्यक्ष प्रचण्डले छलफलबाट पार्टी एकतालाई बलियो बनाउदै सरकारलाई सफल बनाउन आधार प्रदान गर्न सघाउ पुगेको भन्दै सरकारको सकारात्मक कामको प्रचार गर्दै सरकारको रक्षा र प्रचारमा एकताबद्ध भएर लाग्न नेताहरुलाइ अपिल गर्नुभएको छ ।
यो बैठकमा उठेको आलोचनाबाट नेतृत्वलाई आफ्नो कमजोरी पत्ता लगाउन सजिलो भएको बताउदै आगामी दिनमा यसबाट शिक्षा लिएर सुधार गरिने बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्षको विचारले सकारात्मक सन्देश दिएको भन्दै स्थायी कमिटी सदस्य झलनाथ खनालले सबै समस्याको समाधानका लागि केन्द्रीय कमिटीको कार्यदल बनाएर समस्याको हल गर्ने वचन अध्यक्षले दिनुभएको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएको अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन र पार्टीको सन्दर्भमा उठेका प्रश्नहरुको उत्तर दिन र आफ्नो धारणा राख्न बाकी छ । बैठक भोली दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्नेछ ।



















प्रतिक्रिया दिनुहोस्