
धनुषा, ९ पुस । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो ।
मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ ।
श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् । श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको बताउनुभयो ।
उहाँले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।”
श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताउनुभयो ।
उहाँले तोकिएको समयबाट नै सेवा शुरु हुने बताउनुभयो । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्