
काठमाडौं,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन
ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्विकार गरेका हुन ।
ज्यापू संस्कृतिको झलक दिने बाजागाजा र पहिरनसहित सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू महागुठी नेपाल नेतृत्वको ज्यापू समूदायले ज्यापू संस्कृति अनुसार प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित सो दिवस समारोहमा सहभागी हुनका लागि निमन्त्रणा
गरेका थिए । सोही नियन्त्रणा प्रधानमन्त्री ओलीले सहर्ष स्विकार गरेका छन ।
ज्यापू संस्कृति नेपालको राष्ट्रिय संस्कृति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारको विशेष भूमिका हुने भएकाले सदाझैं यस वर्ष पनि ज्यापू दिवसमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको ज्यापू महागुठी नेपालका अध्यक्ष राजभाई जकर्मीले जानकारी दिए ।
सो दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आफूहरुको नियन्त्रणा स्विकार गरेकोमा पनि अध्यक्ष जकर्मीले आभार व्यक्त गरेका छन ।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।
नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।
हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन । यसैबीच, ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ ।



















प्रतिक्रिया दिनुहोस्