
चितवन,२७ मङसिर । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश मध्येबाट राणाको नाम प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधिशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको दोस्रो वरियतामा रहनुभएका वरिष्ठ न्यायाधिश दिपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि तेस्रो वरियताका वरिष्ठ न्यायाधिश राणालाई प्रधानन्यायाधिशमा सिफारिस गरिएको छ ।
२०१४ साल मंसीर २८ गते काठमाडौंको सुकेधारामा जन्मनुभएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधिशको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गरेका राणालाई संसदीय सुनुवाई विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



















प्रतिक्रिया दिनुहोस्