
पोखरा, २२ मङसिर । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्की जिल्ला कारागारको अवलोकन गर्नुभएको छ ।
पञ्चायतविरुद्धको भूमिगत आन्दोलनका क्रममा सोही कारागारमा करिब एकवर्ष बिताउनुभएका अध्यक्ष तिमिल्सिनाले शनिबार त्यहाँ पुगेर थुनुवा तथा कैदी बन्दीको अवस्था बुझ्नुभएको हो ।
पञ्चायतविरुद्धको संघर्षको समयमा विसं २०४२ देखि २०४६ सालसम्म विभिन्न स्थानमा गरी अध्यक्ष तिमिल्सिना चारवर्ष थुनामा पर्नुभएको थियो । कास्की कारगारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तिमिल्सना केही समय संगै बस्नुभएको थियो ।
सो क्रममा उहाँले कैदी बन्दीको अवस्था, उनीहरुको सुविधा, सुत्ने स्थान, शौचालय, पुस्तकालय, खाना खाने मेसलगायत अवलोकन गर्नुभएको थियो । उहाँसँगको भेटका क्रममा कैदी बन्दीका नाइकेले कास्की कारागारअन्तर्गत महिला ब्लक, पुरुषको पुरानो र नयाँ ब्लकको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।
अध्यक्ष तिमिल्सिनाले जेल जीवनका क्रममा आफू र प्रधानमन्त्री ओली बसेको कोठासमेत हेर्नुभएको थियो । अवलोकनपछि उहाँले जेलको अवस्था पहिलेभन्दा धेरै सुधार भएपनि सरकारले पछिल्लो समय भनेजस्तो सुधारगृह बन्न नसकेको टिप्पणी गर्नुभयो ।
‘जेल हामी बसेको समयभन्दा सफा र व्यवस्थित भएको रहेछ,’ उहाँले भन्नुभयो, ‘तर, सरकारले भनेजस्तो सुधारगृह बनाउनका लागि खाना, बस्न, स्वास्थ्य उपचारसँगै सीप तथा ज्ञानका लागि आवश्यक पूर्वाधार र अवसर जरुरी हुन्छ । त्यो अलि पर्याप्त देखिएन ।’
कास्की कारागारमा ५३ महिला र ७ सय ५ जना पुरुष गरी ७ हजार ५८ थुनुवा तथा कैदीबन्दी रहेको कारागारका निमित्त जेलर विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्