
काठमाडौं,१९ मङ्सिर । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मला पन्तको हत्यारालाई आफूहरुले कारबाही गर्ने दाबी गरेका छन् ।
कालिकोटमा आयोजना गरिएको जनशभालाई सम्बोधन गर्दै प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने बताएका हुन ।
सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेको भन्दै अपराधीलाई सरकारले नै संरक्षण गरेको प्रकाण्डले दाबी समेत गरेका छन ।
‘निर्मला नेपाली छोरी हो, घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान भएको उनले बताए ।
उनले भने,जुन कुरा सरकारले गर्न सकेन, अब हामी गरेर देखाउछौँ ।’ निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनले सुनाए ।
५० दिन हिरासतमा रहेका प्रकाण्ड हिरासतमुक्त भएपछि मंगलबार पहिलोपटक गृहजिल्ला कालिकोट पुगेका हुन् । स्थानीय नेता तथा कार्यकर्ताले जिल्ला सदरमुकाम मान्ममा स्वागत गरेका थिए ।
यसैबीच, ‘प्रकाण्ड’ लाई सहिद परिवारले ५० दिन हिराशत बसेको सम्झनामा ५० किलोको फूलको मालाले अभिनन्दन गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्