
युएई ,११ कात्तिक । एकै कम्पनीमा कार्यरत नेपाली चेलीहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अवुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् ।
गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको बताइएको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुल्न सकेको छैन ।
बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अवुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन ।
हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।
युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड हुन सक्ने प्रावधान रहेका छ ।



















प्रतिक्रिया दिनुहोस्