
काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गर्नु भएको छ ।
सभापति देउवाले तत्कालीन सशष्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पु¥याउनु भएको योगदानको पनि स्मरण गराउनु भयो ।
बिहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उहाँले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रका बास्तोलाले देखाउनु भएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिनु भएको योगदानको चर्चा गर्नु भयो ।
उहाँले नेता बास्तोलालाई अदुभूत क्षमताका भएका नेताको रुपमा पनि स्मरण गराउनु भयो । उपसभापति निधिले नेता बास्तोलाले भारतसँगको सीमा समस्या समाधान सम्बन्धि लिनु भएको अडानको पनि तारिफ गर्नु भएको थियो ।
मस्तिष्क घातका कारण थलिनु भएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो ।
बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गर्नु भएको थियो ।
नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।



















प्रतिक्रिया दिनुहोस्