काठमाडौं,२२ भाद्र । प्रधानन्यायाधिशमा प्रस्तावित कामु प्रधानयायाधिश ओमप्रकाश मिश्रको सार्वजनिक सुनुवाई आगामी सोमबार हुने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधिशमा प्रस्तावित मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी आईतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको समितिमा जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।
सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरे माथि सार्वजनिक उजुरीको आव्हान गरेको छ ।
भोली देखि लागु हुने गरि १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सुचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिनुभयो ।
भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनु भएको थियो ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेबाट दोस्रो वरियतामा रहनु भएका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्