काठमाडौं , २० साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णयको जानकारी आज औपचारिक रुपमा संवैधानिक परिषद्लाई गराइँदैछ।
गत शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले २ तिहाई बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्विकृत गरेको थियो। तर सो निर्णयको औपचारिक जानकारी आज मात्रै संवैधानिक समितिमा गराइने भएको हो।
शुक्रबार समय अभाव भएका कारण पत्र पठाउन नसकिएकोले आज मात्रै सो जानकारी गराउन लागिएको संसदीय सुनुवाइ समितिले जनाएको छ।
सुनुवाइ समितिको औपचारिक पत्र प्राप्त हुनासाथ न्याय परिषद्बाट सिफारिसमा परेका अन्य दुई न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्येबाट एक नाम छनोटका लागि संवैधानिक परिषद्को बैठक बस्नेछ। यसअघि सिफारिस गरिएको नाम किन अस्वीकृत भयो भन्ने सन्दर्भमा प्रधानमन्त्रीले कारणसहित संवैधानिक परिषद्को बैठक बोलाउनुपर्ने हुन्छ।
साथै बैठक बोलाउँदा ४८ घण्टाअघि नै समितिका सदस्यहरुलाई सूचना दिनुपर्ने हुन्छ। त्यसकारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाइ समितिबाट अस्वीकृतिको पत्र प्राप्त हुनासाथ बैठक बोलाउने तयारी गरिरहेको स्रोत बताउँछ।
यसअघि सिफारिस गरिएको नाममा सुनुवाइ समितिले अस्वीकृति जनाएपछि अबको बैठकमा नयाँ नाम सिफारिसका लागि छलफल हुनेछ। न्याय परिषद्ले यसअघि नै क्लस्टरमा उल्लेख गरिसकेका नामबाट संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि पुन संसदीय सुनुवाइ समितिमा नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। जसअनुरुप अब मिश्र र राणामध्ये एक नै नेपालको भावी प्रधानन्यायाधीश हुनेछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि जोशीको नामलाई अस्वीकृत गरिएको सन्दर्भमा असहमति जनाउँदै बैठकमा अनुपस्थित हुन सक्छन्। यात परिषद्को बैठकमा उपस्थित भएर पनि आफ्नो असहमति राख्नसक्नेछन्। तर यसले निर्णयमा भने फरक पार्ने देखिँदैन।
सभापति देउवा परिषद् बैठकमा सहभागी नभएपनि गणपुरक संख्या पुग्ने भएकोले नयाँ नाममा बहुमतका आधारमा निर्णय हुन सक्नेछ। यदि देउवा बैठकमा उपस्थित भएर असहमति राखेको खण्डमा भने निर्णय प्रक्रिया केही लम्बिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्