धनुषा १९ साउन । जनकपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष जगदीश यादवको पद धरापमा परेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १९ को मतगणना बदर गरी पुनः दोहर्याउन जनकपुर उच्च अदालतले आदेश जारी गरेपछि संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा निर्वाचित यादवको पद धरापमा परेको हो ।
स्थानीय चुनावमा वडा नं. १९ मा संघीय समाजवादी फोरमका उम्मेदवार जगदीश यादव ७८७ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा विजयी हुनुभएको थियो । त्यस्तै वडाध्यक्षका अर्का उम्मेदवार तत्कालीन नेकपा एमालेका विनोदकुमार साह ७८१ मत प्राप्त गरी मात्र ६ मतले पराजित हुनुभएको थियो ।
६ मतले पराजित तत्कालीन नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार साहले मतगणनाको क्रममा मतगणना अधिकारीहरुले ७ वटा मतपत्र लुकाई विपक्षीलाई जिताएको र आफूलाई हराएको परिणाम घोषणा गरेको भन्दै उच्च अदालत जनकपुरमा पुनः मतगणा गराउन माग गर्दै जिल्ला निर्वाचन कार्याल विरुद्ध रिट दिनुभएको थियो । त्यो रिटमा सुनुवाइ गर्दै गएको बिहीबार उच्च अदालतका न्यायाधीश डा.रवि शर्मा अर्यालको एकल इजलासले आउँदो भदौ २६ गते बिहान ११ बजे दुवै पक्षलाई राखी मतगणना दोहर्याउन जिल्ला निर्वाचन कार्यालय धनुषालाई अदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्