जेनजी आन्दोलनमा डिस्कर्ड निर्णायक : पेट्रोल बमदेखि प्रधानमन्त्री सिफारिससम्म
काठमाडौं, ११ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी (Gen Z) आन्दोलनमा डिस्कर्ड प्लेटफर्म मुख्य आयोजना केन्द्र बनेको जाँचबुझ आयोगले स्पष्ट पारेको छ । आयोगको प्रतिवेदनमा उल्लेख छ कि सुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शन डिस्कर्डमा भइरहेको हिंसात्मक छलफल, मिथ्या सूचना र रसायनिक बम योजना बन्दै उग्र बन्न पुग्यो ।
१. डिस्कर्ड : आन्दोलनको डिजिटल मुख्यालय
आयोगले मुख्य रूपमा दुई डिस्कर्ड सर्भरलाई आन्दोलनको ‘केन्द्र’ मानेको छ :
- Youth Against Corruption (एडमिन : ‘हामी नेपाल’)
- Youth Hub
यी दुई सर्भरमा भाद्र २३ र २४ गते १ लाख १४ हजारभन्दा बढी संवाद भएका थिए । डिस्कर्डमा भोटिङ मार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गर्ने जस्ता राजनीतिक निर्णयहरू समेत भएका थिए ।
आयोगले लेखेको छ : “सुरुमा भिडियो गेम खेल्नेहरूका लागि बनाइएको यो प्लेटफर्म अहिले राजनीतिक तथा सामाजिक आन्दोलन संगठित गर्न विश्वव्यापी रूपमा प्रयोग हुन थालेको छ ।”
२. घटनाक्रमको डिजिटल समयरेखा
भाद्र २३ गते (शान्तिपूर्णबाट हिंसातर्फ)
- बिहान विद्यार्थीहरू युनिफर्ममा माइतीघरमा भेला भए ।
- बानेश्वर निषेधित क्षेत्र तोडिएपछि प्रहरीसँग झडप भयो ।
- प्रहरी गोलीकाण्डमा २२ जनाको मृत्यु भयो ।
- अपराह्नदेखि डिस्कर्डमा मोलोटोभ ककटेल (पेट्रोल बम) बनाउने योजनाहरू सुरु भए ।
भाद्र २४ गते (विनाश र आगजनी)
- कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए ।
- शीर्ष नेताहरूको घर, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री क्वार्टर, प्रहरी कार्यालय र व्यापारिक प्रतिष्ठानमा आगजनी भयो ।
३. आगजनीमा रसायनिक प्रयोगको आशंका
आयोगले आगजनीको गति र तीव्रता हेर्दा साधारण पेट्रोल मात्र नभई घातक रसायन प्रयोग भएको संकेत गरेको छ :
- मोलोटोभ ककटेल : डिस्कर्डमा ३५६ पटक चर्चा भयो ।
- सोडियम मेटल र नेपाल्म : डिस्कर्ड संवादमा सूत्रहरू आदानप्रदान भएको पाइयो ।
- संसद् भवन र अन्य संरचनामा अत्यन्त छोटो समयमा आगो फैलिनुले सोडियम वा म्याग्नेसियम जस्ता प्रज्वलनशील रसायन प्रयोग भएको हुन सक्ने आयोगको अनुमान छ ।
४. मुख्य निशाना
- शीर्ष नेताका निवास : पुष्पकमल दाहाल (ढोलाहिटी), शेरबहादुर देउवा (बुढानीलकण्ठ), केपी शर्मा ओली (बालकोट) लगायतका घरमा आगजनी र तोडफोड ।
- सरकारी संरचना : संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री क्वार्टर ।
- अन्य : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (जिलेटिनसहित आक्रमण प्रयास), भाटभटेनी सुपर स्टोर, हिल्टन होटल जस्ता व्यापारिक केन्द्र ।
५. मिथ्या सूचना र घुसपैठको जोखिम
- डिस्कर्डमा “होस्टलमा बलात्कार भएको”, “मृत्यु संख्या बढाइचढाइ” जस्ता मिथ्या सूचना व्यापक रूपमा फैलाइयो ।
- यस्ता अफवाहले भीडलाई थप उत्तेजित बनाएको आयोगले ठहर गरेको छ ।
- आन्दोलनकारी स्वयंले पनि “राजनीतिक दलका कार्यकर्ता र स्वार्थ समूहको घुसपैठ हुन सक्छ” भन्ने आशंका व्यक्त गरेका थिए ।
आयोगको निष्कर्ष : डिस्कर्ड जस्ता अनियन्त्रित डिजिटल प्लेटफर्मले आन्दोलनलाई शान्तिपूर्णबाट हिंसात्मक मोडमा पुर्याएको छ । आयोगले सामाजिक सञ्जालको प्रभावकारी नियमन, दुष्प्रचार पहिचान प्रणाली र डिजिटल साक्षरता कार्यक्रमलाई तत्काल लागू गर्न सिफारिस गरेको छ ।








प्रतिक्रिया दिनुहोस्