काठमाडौं,१८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्ने निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर असहमति जनाएको छ।
समितिका सदस्य एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दुई तिहाईको बलमा आधार र प्रमाणबिना अस्वीकृत गर्ने निर्णय आपत्तिजनक भएको बताएका छन्। संविधान र स्वतन्त्र न्यायपालिकामाथिको यो हस्तक्षेप भएको उनको भनाइ छ। इतिहासमा नै खराब नजिरको रुपमा यो निर्णय रेकर्ड भएको उनले दाबी गरे।
समितिको निर्णयले प्रधानमन्त्रीको नैतिक जिम्मेवारी माथि नै प्रश्न चिह्न उठेको र मुलुकलाई गम्भीर दुर्घटनातर्फ आकर्षित गरेको कार्कीले बताए।
प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले आज अस्वीकृत गरेको छ ।
मतदानबाट जोशी अस्वीकृत हुने निश्चित भएपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गरेका थिए।
समितिका १५ सदस्यमध्ये कांग्रेसका ४ सदस्य निस्किएपछि बाँकी रहेका १० सदस्यले मतदात गरेका थिए। नेकपामा ९ र संघीय समाजवादी फोरमका १ गरी दुई तिहाई १० सांसदले जोशीलाई अस्वीकृत गर्न मतदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्