काठमाडौं ,१८ साउन । हत्या भएको भनिएकी नेपाली महिलाको युएईमा आत्महत्या गरेको स्पष्ट भएको छ ।
युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको शनिबार आफूले काम गर्ने दुवईको कार्यालयको शौचालयमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिइएकी थिइन ।
घटना बारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एक जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको स्पष्ट भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ कम्पनीमा काम गर्न युएई आएकी थिइन । ३९ बर्षिय खनालका श्रीमान सहित १ छोरा र १ छोरी छन् । खनाल कम्पनीको भिसा रद्द गरेर दशैमा नेपाल फर्किने योजनामा रहेको परिवारले जनाएको छ ।
लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन।
अहिले दुवईको अल रशिद अस्पतालमा रहेको मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने उनले बताएका छन ।
खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा अर्घाखाँचीका सभासद टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्