काठमाडौं,९ साउन । अनसनरत डाक्टर गोविन्द केसीले उठाएका विभिन्न मागका विषयमा भएको सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल भएको छ ।
सिंहदरबारस्थीत शिक्षा मन्त्रालयमा बुधबार पटक पटक भएको वार्ता दुवै पक्षबिच कुरा मिल्न नसक्दा असफल भएको हो । चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।
सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।
वार्तापछि डाक्टर केसीका प्रतिनिधि अधिवक्ता सुरेन्द्र भण्डारीले सरकार अति नै असवेदनशील भएकाले वार्ता सफल नभएको बताउनुभयो । त्यस्तै सरकार डा. केसीका मागका विषयमा विषयगत रुपमा प्रवेश नै गर्न नचाहेको पनि उहाले आरोप लगाउनुभयो । आफूहरुले बुझाएको २२ बुँदामा प्रवेश नै हुन नसकेको उहाको दाबी छ ।
वार्तापछि सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव खगराज बरालले डा. केसीका पक्षले संसोधनका बिषयमा स्पष्ट जवाफ मागेको बताउनुभयो । उहाले वार्ता असफल नभएको दाबी गर्दे निरन्तर वार्ताको प्रयास हुने बताउनुभयो । उहाले संसदमा प्रवेश गरिसकेको बिषयमा आफुले केहि गर्न नसकिने स्पष्ट पार्नुभयो ।
यसअघि बुधबार बिहान माथेमा कार्यदलको संयोजक केदारभक्त माथेमा लगायतका टोलीसँग प्रधानमन्त्री सहित सरकारी वार्ता टोलीले बालुवाटारमा छलफल गरेको थियो । चिकित्सा क्षेत्र सुधारको माग गर्दे डाक्टर केसी २६ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्