सप्तरी, ९ साउन । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक मध्ये एक पत्रकार राम प्रसाद खतिवडाको बुधबार सवारी दुर्घटनामा मृत्यु भएको छ । पत्रकार खतिवडा तत्कालिन प्रेस चौतारी नेपालका सस्थापक समेत थिए ।
राजविराज ७ निवासी ७० वर्षिय पत्रकार खतिवडाको बुधबार बिहान राजबिराज १५ स्थित राजबिराज हनुमाननगर सडक खण्डमा बस र माइक्रो एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विराटनगरबाट राजबिराज तर्फ आउँदै गरेको को १ ज २१४९ नं. को माईक्रो बस र बिपरीत दिशा तर्फ जाँदै गरेको ना ५ ख ६१० नं. को बस एक आपसमा ठोकिदा खतिवडासहित चार जना गम्भिर घाइते भएको थिए ।
टाउकोमा गम्भिर चोट लागेको खतिवडाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सो दुर्घटनामा परि मोरङ मोतिपुर गाउँपालिका ६ बस्ने ३० वर्षिय श्रवण माझी, राजबिराज १ बस्ने ४५ वर्षका मित्यानन्द झा र सुनसरी दुहबी १० बस्ने ५२ वर्षका अर्जुन ठकुरी गम्भिर घाइते भएका छन् । गम्भिर घाइते मध्ये श्रवण माझीको बिराटनगर स्थित गोल्डेन अस्पताल तथा मित्यानन्द झाको धरानस्थित घोपामा थप उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्