गुल्मी, २९ असार । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले चिकित्सा शिक्षा क्षेत्रमा देखा परेका समस्याहरुलाई हटाउन सरकार लागिपरेको बताएका छन् ।
शुक्रबार छत्रकोट गाउँपालिका ४ मा आयोजित पूर्ण शारीरिक जाँच कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञवालीले यस्तो बताएका हुन् ।
विगतमा कमिशनका माध्यमबाट खुलेका मेडिकल कलेजले गर्दा अहिले समस्या देखिएको भन्दै अब त्यसको अन्त्य हुने समेत उनले ठोकुवा गरे ।
‘विगतमा भएका गल्तिले गर्दा नै अहिले अनसन र आन्दोलन जस्ता समस्या देखिएका हुन्,’ मन्त्री ज्ञवालीले भने, ‘त्यसको समाधानको लागि सरकार लागिपरेको छ ।’
त्यसका साथै उनले १० बर्षे शसस्त्र द्धन्द्ध र १० बर्षे संक्रमणकालले गर्दा देश पछाडि परेको भन्दै अहिलेको सरकारले सबै समस्याहरुलार्ई अन्त्य गर्ने समेत बताए । कार्यक्रममा मन्त्री ज्ञवालीले अबको १० बर्षपछि कोहि पनि बाध्यताले विदेश जानुनपर्ने बताए । भर्खरै मात्र सरकारले नीति तथा कार्यक्रम ल्याएकोले नयाँ योजनाका साथ आफूहरु अगाडि बढ्न खोजेको उनको भनाई छ ।
त्यसका साथै अबको पाँच बर्षमा अल्पविकसित देश र १० बर्षमा विकासशिल राष्ट्रको हैसियतमा पुग्नेगरि आफूहरुले काम गरिरहेको उनले दाबी गरे । साथै नेपालले सबै छिमेकीसंग सुमधुर सम्बन्ध राख्न चाहेकोले भ्रमणको विषयलाई बाहिर अनावश्यक टिप्पणी गर्नु आत्मघाती हुने उनले बताए ।
प्रधानमन्त्री केपी ओलीको चिन र भारत भ्रमणले दुवै देशसंगको सम्बन्ध सुदृढ भएको तथा आर्थिक हिसाबमा पनि समृद्धिको ढोका खुलेको ज्ञवालीको दाबी छ । ‘भ्रमणको क्रममा नेपालको लागि केहि महत्वपूर्ण विकासका पूर्वाधार निर्माणसम्बन्धी सम्झौता भएको छ,’ उनले भन्नुभयो, ‘नेपाल नयाँ परराष्ट्र नीतिका साथ अगाडि बढिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्