
काठमाडौं,२४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७५ असार २६ गते देखी आन्दोलन सञ्चालन गर्ने भएको छ ।
यस क्रममा असार २६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि सरकारको स्वतन्त्रता विरोधी निर्णयहरु र स्वेच्छाचारी गतिविधि विरुद्ध दिउँसो १ बजे धर्ना प्रदर्शन गरिने छ ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता हुने बताइएको छ । यसैगरी असार ३० गते शनिवार १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेट अगाडि दोस्रो विरोध प्रदर्शन गरिने छ । असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ वानेश्वर संसद भवन अगाडि तेस्रो प्रदर्शन गरिने छ ।
यसैगरी साउन १ गतेदेखि काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा आयोजना गरिने छ जसलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले संवोधन गर्नु हुनेछ । साउन महिनामा गरिने प्रदर्शन सहित दर्जनौ कार्यक्रमहरुको प्रारुप चाडै सार्वजनिक गरिने छ ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको छ ।
साथै न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन प्रक्षेपण गरेको हो ।



















प्रतिक्रिया दिनुहोस्