काठमाडौं,२१ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाल विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट अपमानजनकरुपमा फर्काइएका छन् ।
प्राधिकरण प्रमुख भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक पूर्वनिर्धारित बैठकमा सहभागी हुन पुगेका भुसाललाई प्रधानमन्त्री ओलीले भेटै नदिई फर्काए हुन । भुसालसहितको टोली पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा सहभागी हुन कार्यालयको टीमसहित बालुवाटार गएका थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा बस्नुपर्ने सो बैठकमा भूकम्प प्रभावित १४ जिल्लामा सांसदहरुसमेत सहभागी हुने कानूनी व्यवस्था छ । भूकम्पपीडितहरुका विषयमा छलफल गर्नका लागि परिषदको बैठक बालुवाटारमा विहीबार बिहान १० बजे बस्ने केही दिनअघि नै तय भएको थियो ।
सोही पूर्वनिर्धारित कार्यक्रम अनुसार सिइओ भुसाल विहीबार पौने १० बजेतिर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालका कर्मचारीहरुले भुसाललाई बुधबार साँझको मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण प्रमुखको नियुक्ति खारेज भएको जनाउ दिएर बैठक स्थगित भएको सूचना दिए । त्यसपछि भुसाललाई प्रधानमन्त्री ओलीसँग भेटसम्म गर्न नदिई फर्काइयो ।
एमाले नेताहरुले पुर्निर्माण प्राधिकरणमा देउवा सरकारले कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धीलाई नियुक्त गरिएको भन्दै विरोध जनाउँदै आएका थिए । यद्यपि, प्राधिकरणका सीर्इओ भुसाल पूर्वसचिवसमेत भएकाले कुशल प्रशासक मानिन्थे । आफू रामचन्द्र पौडेलको सम्धी भएका कारणले नभई आफ्नै क्षमताले यो ठाउँसम्म आइपुगेको भुसालले बताउँदै आएका थिए ।
ओली सरकार गठन भएको ४ महिनासम्म पनि भुसाललाई नहटाई प्राधिकरणको काम अघि बढाइएको थियो । भूकम्प पुनर्निर्माण प्राधिकरणमा प्रधानमन्त्रीको नेतृत्वदायी भूमिका रहन्छ । यसको कार्यकारी नेतृत्व सीईओमा रहने प्रावधान छ ।



















प्रतिक्रिया दिनुहोस्