हेटौडा,८ असार । कांग्रेस जिल्ला सभापतिहरुको भेला आज सकिदै छ । मंगलबारदेखि शुरु भएको भेला आज हेटौंडामा घोषणापत्र जारी गर्दै सकिने भएको हो ।
बिहीबारसम्म बोल्ने अधिकांश जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खतरामा परेको भन्दै आलोचना गरेका थिए । बिहीबार नै सक्ने बताइए पनि जिल्ला सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको थियो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने जानकारी दिए । उनका अनुसार, घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्नेलगायत विषय समेटिने छन् ।
भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझावसमेत दिएको शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्