डोल्पा २४ जेठ । जिल्लाका ६ जना ठेकेदारलाई सातदिने अल्टिमेटम दिइएको छ । जिल्लामा निर्माण भइरहेका भौतिक संरचनाहरू कामै नगरी अलपत्र पार्ने ठेकेदारलाई यथाशिघ्र काम सुचारुगर्न सम्बन्धित कार्यालयले सातदिने अल्टिमेटम दिएको हो ।
डोल्पामा भवन डिभिजन कार्यालय जुम्लामार्फत सातवटा भवन निर्माण भईरहेका छन् । निर्माण भईरहेका संरचनामा तीनवटा खोनपानी आयोजना,शिक्षा विकास तथा समन्वय एकाइको एक भवन, सिँचाइ सव डिभिजन कार्यालयको सिँचाइ, जिल्ला समन्वय समितिमार्फत मोटोरेबल लगाएतका १४ वटा योजना हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेका छैनन् ।
कुल १४ वटा योजनाका ६ वटा ठेकेदारमध्ये निमार्ण सेवाका पाँचवटासम्म एउटै निर्माण सेवाले जिम्मा लिएको पाईएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माणका लागि योजना सम्झौता गरेको वर्षांै भए पनि हालसम्म काम सम्पन्न नभएपछि एक साताको अल्टिमेटम दिइएको हो ।
सो समयभित्र पनि काम थालनी नभए आवश्यक कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिम्मा लिएका काम समयमा सम्पन्न गर्न सरकारले देशभरका ठेकेदारलाई कडाइका साथ निर्देशन दिँदै कारबाही गरेसँगै डोल्पामा पनि कुल १४ वटा योजनाका ६ ठेकेदारलाई एक साताको अल्टिमेटम दिइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
निर्माण कम्पनीले योजना सम्झौता गर्दा समयमा काम नसके ग्रेड वृद्धिमा रोक तथा कालोसूचीमा राख्न सक्ने सर्तसहित सम्झौता गर्ने हुनाले अब यदि तत्काल योजना सम्पन्न नगरे कालोसूचीमा राखिने र ठगी तथा हेलचेक्र्याइँ गरेको अभियोगमा मुद्दा दायर गरिने प्रजिअ थापाले बताउनुभयो ।
दुर्गम र भौगोलिक विकटतालाई हेरेर एक साता अवधिको जानकारीमूलक अल्टिमेटम दिन सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको प्रजिअ थापाले बताउनुभयो । सम्बन्धित कार्यालयबाट ठेकेदार सम्पर्कमा नआए वा योजनाको काम सञ्चालन नगरेको जानकारीसहित सेवाग्राहीको उजुरी आएमा पाँच मिनेटभित्रै ठेकेदारलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता गर्नुभयो ।
जिल्लामा सम्झौता भएर हालसम्म पनि निर्माण हुन नसकेको १४ वटा योजनामा ‘ग’ वर्गका ठेकेदारदेखि मन्त्रीसम्मका निर्माण कम्पनी छन् । यदि एक साताको अल्टिमेटमलाई सामान्य रूपमा कसैले पनि लिन खोजे मन्त्रीसमेत कारबाहीमा पर्ने प्रजिअ थापाको दाबी छ ।
सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न हुन नसकेका योजना मोटोरेबल पुल रूपगार्ड, जिल्ला कारागार, जिल्ला प्रशासनको भवन, खोनपानी र स्वास्थ्यचौकी भवन रहेको जिल्ला प्रशासनले जनाएको छ ।
ठूला र जिम्मेवार व्यक्तिहरूकै नाममा ठेक्काहरू धेरै रहे पनि गलत काम गर्नेलाई नछाडिने प्रजिअ थापाले बताउनुभयो ।
द क्याराभान जेबी कन्सट्रक्सनले २०७२ भदौमा सम्झौता गरी हालसम्म निर्माण सम्पन्न गर्न नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्