काठमाडौँ, ९ वैशाख । नयाँ वर्षसँगै काठमाडौँ महानगरपालिकाले शहरी व्यवस्थापनमा नागरिकलाई जिम्मेवार बनाउन सचेतना कार्यक्रम शुरु गरेको छ ।
कामपाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीले ७० नगर प्रहरी परिचालन गरेर आजदेखि उक्त कार्यको शुरुवात गर्नुभएको हो ।
जथाभावी बाटो काट्ने पैदलयात्रीलाई जेब्रा क्रसको प्रयोग गर्न, पैदल मार्गमा व्यापार गर्नेलाई सटरभित्र मात्र व्यापार गर्न, व्यापार प्रवद्र्धन गर्नेलाई प्रचारप्रसारका सामग्री यत्रतत्र नटाँस्न, हरेक पसलका लागि कम्तीमा एउटा डस्टबिन राख्न र घरमा उत्पादन भएको फोहोर सम्बन्धित व्यक्ति वा संस्थालाई जिम्मा लगाउन अनुरोध गरिएको छ ।
नागरिकलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिएको कामपाले जानकारी दिएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म चल्ने उक्त अभियानअन्तर्गत त्रिपुरेश्वर, थापाथली, सुन्धारा, न्यूरोड, जमल र रत्नपार्क, मैतीदेवी, सुकेधारा, गोँगबु, बालाजुलगायत क्षेत्रमा टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्