काठमाडौं, १५ चैत्र । तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन् ।आफ्नो बधाई सन्देशमा सिक्योङले लेखेका छन्, ‘हालै सम्पन्न जेन-जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको छ ।’पत्रमा अगाडि भनिएको छ, ‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् ।
तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’उनले अन्त्यमा भनेका छन्, ‘कृपया मेरो हार्दिक बधाई तथा शुभकामना स्वीकार गर्नुहोस् ।
नेपालको इतिहासको यस महत्वपूर्ण घडीमा तपाईंको नेतृत्वमा सफलता हासिल होस् भन्ने कामना गर्दछु । तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जानेछ भन्ने अपेक्षा राख्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गर्दछौँ ।’सिक्योङ पेन्पा छेरिङ चीनमा प्रतिवन्धित भएर हाल भारतको धर्मशालामा छन् । सिक्यौङको अर्थ सरकारप्रमुख सरह हुन्छ । उनी लामो समय तिब्बती सांसद थिए र सभामुखको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए ।निर्वाचित तिब्बति सरकारले नेपालको नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिएको सम्भवतः पहिलोपटक हो । यसअघि दलाइ लामाले अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ सन्देश पठाएका थिए ।



















प्रतिक्रिया दिनुहोस्