काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेलगत्तै आफ्नो सचिवालय टिम गठन गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सल्लाहकारसहितको प्रारम्भिक टोली घोषणा गर्नुभएको हो।
प्रमुख सल्लाहकारमा कुमार बेन
प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गर्नुभएको छ। बेन यसअघि पनि शाहका रणनीतिक सल्लाहकारका रूपमा सक्रिय थिए। काठमाडौं महानगरपालिकाको मेयर चुनावदेखि नै उनले शाहलाई साथ दिँदै आएका थिए। रणनीति निर्माणमा दक्ष भएकाले उनी शाहका निकट र विश्वासिला सहयोगी मानिन्छन्।
राजनीतिक सल्लाहकारमा असिम शाह
राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। असिम शाह ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गराउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।
उनकै पहलमा रवि लामिछाने र बालेन्द्र शाहबीच भेटवार्ता भएको थियो, जसले ७ बुँदे सहमति र अन्ततः शाहको रास्वपामा प्रवेशको बाटो खुलाएको थियो।
असिम यसअघि समानुपातिक सांसद थिए। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बन्ने तयारी भए पनि अन्तिम समयमा पछि हटेका थिए।
अन्य प्रमुख नियुक्तिहरू
प्रधानमन्त्री शाहको सचिवालयमा अन्य पदहरूमा पनि नियुक्ति गरिएको छ:
- मुख्य स्वकीय सचिव: सुवास शर्मा
- प्रशासन प्रमुख: सुदिप ढकाल
- सूचना, सञ्चार तथा प्रविधि संयोजक: विवेक मिश्र
यसैगरी, अर्जुन घिमिरे, भूपदेव शाह र सुरेन्द्र बजगाईंलगायत मिडिया टोली पनि शाहसँगै रहने तयारीमा छन्। यी पदहरूको अन्तिम निर्णय केही दिनभित्र हुने जनाइएको छ।
सरकारी तर्फको सचिवालय
सरकारी संरचनातर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ। उनले हाल प्रधानमन्त्री कार्यालयको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
सुरक्षा व्यवस्था
प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा प्रहरी नायव उपरीक्षक दिपेश बस्याल खटिएका छन्।
बालुवाटारमा बसाइँ
प्रधानमन्त्री शाह शपथपछि पूजा–पाठसहित सरकारी निवास बालुवाटार सरेका छन्।
शपथग्रहण पनि वैदिक विधिअनुसार सम्पन्न भएको थियो, जहाँ १०८ वटुकद्वारा स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षुद्वारा मंगल पाठ गरिएको थियो।
प्रधानमन्त्री शाहले छोटो समयमै आफ्नो सचिवालयलाई रणनीतिक, राजनीतिक र प्रशासनिक रूपमा सन्तुलित बनाउने प्रयास गरेका छन्। बाँकी नियुक्तिहरू पूरा भएपछि सचिवालय अझ स्पष्ट र पूर्ण स्वरूपमा आउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्