काठमाडौं, १० चैत्र । आन्तरिक रूपमा विभाजित देखिएको नेपाली कांग्रेस अब कुन दिशामा अघि बढ्छ भन्ने विषय सर्वोच्च अदालतको आगामी फैसलाले तय गर्ने देखिएको छ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि असन्तुष्ट पक्षले अदालतको ढोका ढक्ढक्याएको छ। शेरबहादुर देउवा समूहले दायर गरेको रिट हाल विचाराधीन छ, जसले कांग्रेसको भविष्यमा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।
इतर समूहका नेता मीन विश्वकर्मा का अनुसार अदालतले थापा नेतृत्वलाई मान्यता दिए पार्टी औपचारिक रूपमा विभाजनतर्फ जान सक्छ। “फैसला आएपछि मान्ने र नमान्ने दुई धार स्पष्ट हुन्छन्,” उनले बताएका छन्।
उनले चुनाव नजिकिँदा विवाद चर्किन नदिन मौनता अपनाइएको भए पनि अहिले परिणाम आइसकेपछि आ–आफ्नो धार स्पष्ट पार्ने चरण सुरु भएको बताए।
यता संस्थापन पक्षका सहमहामन्त्री प्रकाश रसाइली स्नेही ले अझै सहमतिको प्रयास जारी रहेको जनाउँदै सार्वजनिक टिप्पणीमा संयमता अपनाउनुपर्ने बताएका छन्। उनले पार्टीलाई विधान र विधिको मार्गबाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार विशेष महाधिवेशनबाट दुईतिहाइ समर्थनसहित चयन भएको नेतृत्वलाई अस्वीकार गर्नु पार्टीका लागि दुर्भाग्यपूर्ण हुन सक्छ।
समानान्तर गतिविधि तीव्र
निर्वाचनमा बेहोरेको हारपछि कांग्रेसभित्र आरोप–प्रत्यारोप बढ्दै गएको छ। संस्थापन र इतर दुवै समूहले एकअर्कालाई दोषारोपण गर्दै समानान्तर बैठक र गतिविधि सञ्चालन गरिरहेका छन्।
एकातर्फ पार्टी केन्द्रीय समिति बैठक बसिरहँदा अर्कोतर्फ देउवा–शेखर कोइराला समूहले छुट्टै रणनीति बैठक गरी पुरानै केन्द्रीय समिति सक्रिय गर्ने तयारी थालेको छ।
संस्थापन पक्षले भने चुनावी हारका कारणहरूमा गुटबन्दी, आन्तरिक असहयोग र समन्वयको अभावलाई मुख्य रूपमा औंल्याएको छ। साथै, सरकारको कार्यसम्पादन, जनअसन्तुष्टि र नयाँ राजनीतिक शक्तिको उदयलाई पनि हारका कारणका रूपमा लिइएको छ।
भ्रातृ संगठनमा पनि असर
पार्टीभित्रको विवादले भ्रातृ संगठनहरूमा समेत प्रभाव पार्न थालेको छ। नेपाल विद्यार्थी संघ भित्र पनि नेतृत्व विवाद चर्किँदै गएको छ।
देउवा निकट समूहले स्वतन्त्र रूपमा अघि बढ्ने संकेत गरेपछि अर्को पक्षले पार्टी नेतृत्वसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ।
कुल मिलाएर कांग्रेसभित्रको विवाद अब अदालतको निर्णयसँगै नयाँ मोडमा पुग्ने देखिएको छ, जसले पार्टी एकतामा टिक्छ कि विभाजनतर्फ जान्छ भन्ने प्रश्न अझ पेचिलो बनेको छ।








प्रतिक्रिया दिनुहोस्