पार्टीले कम्तीमा १५ देखि १७ लाख समानुपातिक मत र प्रत्यक्षमा अप्रत्याशित जितको अपेक्षा गरेको छ
काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा -माओवादी लगातयका विभिन्न वाम समूहहरुबीचको एकीकरण पछि बनेको) र पुराना विचारधारा र सैद्धान्तिक संर्कीणता समेत त्यागेर चुनाव होमिएको नेकपाले यसपटककको संसदीय राजनीतिमा नयाँ नाम र नयाँ चुनाव चिन्ह लिएर आएको छ । तर यसको जरा पुरानै माओवादी आन्दोलन र राजनीतिक विरासतसँग जोडिएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिल्दै हालै बनेको यो पार्टीले मूलतः माओवादीको राजनीतिक इतिहासलाई नै बोकेको छ ।
पार्टीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गरिरहेका छन्, जसले तीन दशकभन्दा बढी समय माओवादी आन्दोलनको नेतृत्व गरेका थिए । रोचक कुरा के छ भने, हाल क्रियाशील प्रमुख पार्टीहरूमध्ये नेकपामा सबैभन्दा बढी पूर्वप्रधानमन्त्री छन्— प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल । खनालबाहेक प्रचण्ड र नेपाल दुवै प्रत्यक्ष निर्वाचनमा उम्मेदवार छन् ।
‘पाँच कुने तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएको नेकपाको निर्वाचन इतिहास हेर्दा पुरानो ‘हँसिया हथौडा’ को मत इतिहाससँग तुलना गर्नुपर्छ ।
पहिलो संविधानसभा : ऐतिहासिक लहर
२०६२/६३ को जनआन्दोलनपछि १२ बुँदे समझदारी र शान्ति सम्झौताले माओवादीलाई मुख्यधाराको राजनीतिमा ल्यायो । २०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० मध्ये १२० सीट जित्यो । समानुपातिकतर्फ ३१ लाख ४४ हजार २०४ मत (२९.२८ प्रतिशत) प्राप्त गर्यो ।
प्रचण्ड प्रधानमन्त्री बने, तर ‘राज्य पुनर्संरचना र सत्ता कब्जा’ को रणनीति प्रभावकारी नभएपछि नौ महिनामै सरकार ढल्यो । पहिलो संविधानसभा असफल भयो, माओवादीको लय पनि गुम्यो ।
२०७० : तेस्रो स्थानमा झरेको ‘रिसाइज’
२०७० मा दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पहिलोबाट तेस्रो स्थानमा झर्यो । प्रत्यक्षतर्फ २६ सीट मात्र जित्यो । समानुपातिक मत १४ लाख ३९ हजार ७२६ मा सीमित भयो— पहिलेको भन्दा १७ लाख बढीले घटेको थियो । कांग्रेस र एमालेले सरकार र संविधान निर्माणको नेतृत्व गरे ।
माओवादी/नेकपाको चुनावी मत तथा प्रतिशतको तालिका
| निर्वाचन वर्ष | निर्वाचन प्रकार | प्रत्यक्ष सीट जित | प्रत्यक्ष मत (लगभग) | समानुपातिक मत | समानुपातिक प्रतिशत | समानुपातिक सीट | कुल सीट (प्रत्यक्ष + समानुपातिक) | स्थान/टिप्पणी |
|---|---|---|---|---|---|---|---|---|
| २०६४ (२००८) | पहिलो संविधान सभा | १२० | ३१,४५,५१९ | ३१,४४,२०४ | २९.२८% | १०० | २२० (कुल २२९) | पहिलो दल, ऐतिहासिक लहर |
| २०७० (२०१३) | दोस्रो संविधान सभा | २६ | – | १४,३९,७२६ | १५.२१% | ५४ | ८० | तेस्रो स्थानमा झरेको |
| २०७४ (२०१७) | प्रतिनिधि सभा (वाम गठबन्धन) | ३६ | – | १३,०३,७२१ | लगभग १५% | १७ | ५३ | तेस्रो, गठबन्धन लाभ |
| २०७९ (२०२२) | प्रतिनिधि सभा (गठबन्धन) | १८ | – | ११,७५,६८४ (वा ११,६२,९३१) | लगभग १०-११% | १४ | ३२ | तेस्रो, मत थप घट्यो |
- २०६४: माओवादीले प्रत्यक्ष र समानुपातिक दुवैमा सबैभन्दा बढी मत ल्याएर ऐतिहासिक जित हासिल गरे। कुल मतदाताको करिब ३०% समर्थन थियो।
- २०७०: मतमा ठूलो गिरावट आयो (समानुपातिकमा १७ लाखभन्दा बढीले घट्यो)। पहिलोबाट तेस्रो स्थानमा झरे।
- २०७४: वाम गठबन्धन (एमालेसँग) भए पनि समानुपातिक मत अझ घट्यो। सीटमा केही सुधार तर लोकप्रिय मतमा ह्रास।
- २०७९: कांग्रेससँग गठबन्धन गर्दा पनि प्रत्यक्ष १८ र समानुपातिकबाट १४ सीट। मत राष्ट्रिय स्वतन्त्र पार्टीको हाराहारीमा सीमित भयो।
- हालको नेकपा (माओवादी केन्द्र + एकीकृत समाजवादी + अन्य घटक एकता) ले २०७९ को मत आधारमा थप वृद्धि अपेक्षा गरेको छ, तर विगतका तीन निर्वाचनमा लगातार तेस्रो स्थान कायम छ।
२०७४ : गठबन्धन गर्दा पनि तेस्रो
संविधान बनेपछि २०७४ को निर्वाचनमा एमालेसँग वाम गठबन्धन गरे पनि माओवादी तेस्रो नै रह्यो । प्रत्यक्षतर्फ १६५ मध्ये ३८ सीट जित्यो । समानुपातिकमा १३ लाख ३ हजार ७२१ मत मात्र आयो । गठबन्धनले सीट बढाए पनि लोकप्रिय मतमा सुधार भएन ।
२०७९ : गठबन्धन परिवर्तन गर्दै अस्तित्व जोगाउने प्रयास
एमालेसँगको एकता विघटनपछि माओवादीले कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गर्यो । तर प्रत्यक्षतर्फ १८ सीट मात्र जित्यो, समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत आयो— जुन नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा केही बढी मात्र थियो ।
तेस्रो भए पनि प्रचण्डले सरकारको नेतृत्व गरे, तर गठबन्धन फेरबदल र जेनजी आन्दोलनपछि संसद् विघटन भयो ।
अहिलेको अवस्था : नयाँ एकता र अपेक्षा
हाल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य २३/२५ घटकसँग एकीकृत भएको छ । नेकपा नेताहरूका अनुसार, पुरानो माओवादी मत थिग्रिएर बसेकाले अब घट्ने होइन, बढ्ने सम्भावना छ । अग्नि सापकोटाले समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा बढी मत आउने दाबी गरेका छन् । पार्टीले कम्तीमा १५ देखि १७ लाख समानुपातिक मत र प्रत्यक्षमा अप्रत्याशित जितको अपेक्षा गरेको छ ।
प्रचण्डले गठबन्धनका प्रस्ताव अस्वीकार गरेका छन् । अघिल्ला निर्वाचनमा गठबन्धन गर्दा पनि मत सुधार नभएको र हालै राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेले एक्ल्याएको अनुभवले उनी सतर्क छन् ।
प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन्, तर पार्टीका लागि व्यापक ‘सुरक्षित माहोल’ बनेको छैन । चुनाव तीन साता बाँकी हुँदा नेकपा सीमित क्षेत्रबाहिर चर्चामा छैन । सहरी क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाको चर्चा बढी छ ।
कांग्रेसले गगन थापा, एमालेले केपी ओली र रास्वपाले बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दा नेकपाले कसैलाई तोकेको छैन । प्रचण्डले ‘चुनावपछि चर्चामा रहेका कोही प्रधानमन्त्री नबन्ने’ बताएका छन्, जसको अर्थ ‘म्याजिक नम्बर’ आफैंसँग राख्ने प्रयास हो ।
तर वर्तमान चुनावी माहोलमा नेकपा न खतरामा छ, न त पूर्ण रूपमा सुरक्षित नै । यसपटकको नतिजाले यस पार्टीको भविष्य निर्धारण गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्