काठमाडौं, २२ माघ । अघिल्ला निर्वाचनमा देखिएको मतदाता प्रवृत्ति, गठबन्धनको उतार–चढाव र नयाँ राजनीतिक शक्तिको उदयले यसपटकको चुनावलाई अझ रोचक बनाएको छ। २०७४ सम्म नेपाली कांग्रेस र नेकपा एमालेबीच सीमित प्रतिस्पर्धा रहने काठमाडौँमा २०७९ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो तेस्रो शक्तिका रूपमा उदायो।
आसन्न निर्वाचनमा रास्वपाले आफ्नो सिट संख्या बढाउने हो कि कांग्रेस–एमाले पुनः ‘कमब्याक’ गर्ने हो, वा नयाँ दलले थप सरप्राइज दिने हो भन्ने प्रश्नको उत्तर फागुन २१ पछि मात्रै स्पष्ट हुनेछ। यद्यपि, विगतका नतिजाले भावी सम्भावनाको संकेत अवश्य दिन्छन्।
काठमाडौँ–१
काठमाडौँ–१ पछिल्लो निर्वाचनमा पनि परम्परागत प्रतिस्पर्धाबाट खासै प्रभावित भएन। २०७९ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले मत घटे पनि जितलाई निरन्तरता दिए। उनका प्रमुख प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्र दुवै निर्वाचनमा झिनो मतान्तरले पराजित भए।
रास्वपा यस क्षेत्रमा तेस्रो स्थानमा सीमित रह्यो। आगामी चुनावमा राप्रपाबाट मिश्र दोहोरिँदा कांग्रेसबाट प्रबल थापा क्षेत्री र रास्वपाबाट रञ्जु दर्शना उम्मेदवार छन्। समानुपातिक मतका आधारमा कांग्रेस, रास्वपा र राप्रपा नै मुख्य प्रतिस्पर्धी देखिन्छन्।
काठमाडौँ–२
काठमाडौँ–२ मा २०७९ को नतिजा सबैभन्दा चकित पार्ने मध्ये एक रह्यो। पुराना दललाई पछि पार्दै रास्वपाकी सोविता गौतम विजयी भइन्। समानुपातिक मतमा पनि रास्वपा र राप्रपा अग्रस्थानमा छन्।
यसपटक रास्वपाबाट सुनिल केसी उम्मेदवार छन् भने सोविता गौतम चितवन–३ सरेकी छन्। राप्रपाले कुन्ती पोखरेल दोहोर्याएको छ। उम्मेदवारको छवि निर्णायक बन्ने देखिन्छ।
काठमाडौँ–३
यस क्षेत्रमा दल त उही रहे पनि मतदाताले व्यक्ति फेरेका छन्। २०७९ मा कांग्रेसका सन्तोष चालिसे विजयी भए। आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङको उम्मेदवारीले प्रतिस्पर्धालाई नयाँ मोड दिन सक्ने विश्लेषण भइरहेको छ।
मुख्य दलबाट हेभिवेट उम्मेदवार नहुँदा घिसिङ ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना बलियो देखिन्छ।
काठमाडौँ–४
लगातार जित्दै आएका कांग्रेस नेता गगन थापा यसपटक मैदानमा नरहेपछि काठमाडौँ–४ खुला प्रतिस्पर्धाको क्षेत्रमा परिणत भएको छ। कांग्रेसले युवा उम्मेदवार सचिन तिमल्सेना अघि सारेको छ भने एमालेबाट राजन भट्टराई पुनः उम्मेदवार बनेका छन्।
रास्वपाले पुकार बमलाई उम्मेदवार बनाउँदा यहाँ त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ।
काठमाडौँ–५
२०७९ मा कांग्रेसले सिट जोगाए पनि समानुपातिक मतमा रास्वपा सबैभन्दा अगाडि रह्यो। यही आधारमा रास्वपाले युवा उम्मेदवार स्मित पोखरेललाई अघि सारेको छ।
कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल दोहोरिँदा राप्रपाबाट कमल थापा मैदानमा छन्। मतदाताको भरोसा कसतर्फ जान्छ भन्ने नै निर्णायक बन्नेछ।
काठमाडौँ–६
रास्वपाले पुराना दलबाट सिट खोसेको क्षेत्र काठमाडौँ–६ मा शिशिर खनाल पुनः उम्मेदवार छन्। समानुपातिक र प्रत्यक्ष दुवैमा रास्वपा अग्रस्थानमा रहेकाले यस क्षेत्रमा उसले निरन्तरता दिने सम्भावना बलियो देखिन्छ।
काठमाडौँ–७
२०७९ मा रास्वपाका गणेश पराजुली विजयी भएको यस क्षेत्रमा समानुपातिक मतमा पनि रास्वपा निकै बलियो छ। यसपटक पनि प्रमुख चुनौती देखिँदैन।
काठमाडौँ–८
रास्वपाले विराजभक्त श्रेष्ठलाई दोहोर्याएको काठमाडौँ–८ मा पनि समानुपातिक मतका आधारमा रास्वपा अग्रस्थानमा छ। अन्य दलका उम्मेदवार परिवर्तन भए पनि शक्ति सन्तुलन खासै बद्लिएको छैन।
काठमाडौँ–९
एमालेले निरन्तर जित्दै आएको भए पनि समानुपातिक मतमा रास्वपा अगाडि रहेको क्षेत्र हो काठमाडौँ–९। यसपटक रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई मैदानमा उतारेको छ, जसले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
काठमाडौँ–१०
लगातार दुई निर्वाचन जितेको कांग्रेसको पकड रहेको काठमाडौँ–१० मा यसपटक सबै दलबाट नयाँ अनुहार छन्। समानुपातिक मतमा रास्वपा कांग्रेसको निकै नजिक रहेकाले यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ।
समग्रमा, काठमाडौँका १० निर्वाचन क्षेत्र नयाँ र पुराना शक्तिको निर्णायक भिडन्तको केन्द्र बनेका छन्। विगतको नतिजा मार्गदर्शक भए पनि मतदाताको बदलिँदो मनोविज्ञानले अन्तिम नतिजा उल्ट्याउन सक्ने सम्भावना उत्तिकै बलियो देखिन्छ।







प्रतिक्रिया दिनुहोस्