अमेरिकाका सहयोगी राष्ट्रहरू अहिलेका लागि मान्न सक्छन्। तर विश्वासमा परेको क्षतिले दीर्घकालीन परिणाम ल्याउनेछ।

डाभोस, स्विट्जरल्यान्ड — “तपाईंले हुन्छ ’ भन्न सक्नुहुन्छ, हामी अत्यन्त कृतज्ञ हुनेछौं। वा ‘हुन्न’ भन्न सक्नुहुन्छ—र हामी सम्झिरहनेछौं।” डाभोसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डबारे युरोपका विकल्प यसरी प्रस्तुत गरे। मैले एक वरिष्ठ युरोपेली नेतासँग ट्रम्पले सैनिक कारबाहीको धम्कीबाट पछि हट्दा राहत महसुस भयो कि भएन भनेर सोध्दा, उनले ‘भयो’ भने। “तर अब हामीसँग उनले हामीसँग व्यवहार गर्ने ढाँचै देखिइसकेको छ,” ती नेताले भने। “उनले हामीलाई अवहेलनासाथ व्यवहार गर्छन्। र यो संकट समाधान भए पनि, हामी सम्झिरहनेछौं।”
ट्रम्पको नेतृत्वशैली मूलतः लेनदेनमुखी (ट्रान्ज्याक्सनल) छ। उनले सुरुमा सोध्छन्, “कससँग बढी दबाब (लेभरेज) छ ?” यदि उत्तर “म” छु भन्ने अयो भने, उनले जित्न मात्र होइन—हावी हुन—जति सक्दो कडा र सार्वजनिक रूपमा धकेलछन्, अधिकतम मूल्य असुल्ने उद्देश्यले। उनका लागि कूटनीति भनेको ‘निचोर्ने कला’ हो।
ट्रम्प पुस्तौँदेखि निर्माण हुँदै आएको अमेरिकाको विशाल शक्ति प्रयोग गर्न—लगभग खेलकुदमा झैं—आनन्द मान्छन्। उनले स्विट्जरल्यान्डमाथि भन्सार शुल्क लगाए, अनि अझ चर्कोगरी आकाशिँदो बनाइदिए—उनका शब्दमा, स्विस राष्ट्रपतिले “उनलाई गलत ढङ्गले छोए” भनेर। स्विसहरू कति छिटो राहत माग्दै उनीकहाँ आए भन्ने कुरा सुनाउन उनले रस देखाए । यो रणनीतिभन्दा बढी शक्ति–प्रदर्शन थियो।
गत वर्ष नाटोका महासचिव मार्क रुट्टेले विद्यालयको आँगनमा झगडा छुट्याउन आउने “ड्याडी” सँग ट्रम्पलाई हाँस्यात्मक रूपमा तुलना गरेझैं देखिन्थ्यो। ट्रम्पले त्यही पंक्ति—डाभोसमा समेत—स्पष्ट आनन्दका साथ दोहोर्याइरहेका छन् । असल नभएको चाकरीसमेत उनलाई मन पर्छ, किनकि यसले उनी कति शक्तिशाली छन् भन्ने देखाउँछ—मानिसहरूलाई प्रशंसा नक्कली नै भएपनि गर्नैपर्छ भन्ने अर्थमा।
युरोपेलीहरूले यसलाई व्यक्तिगत रूपमा नलिनु राम्रो। ट्रम्प आफूले कमजोर ठानेका जो–कोहीसँग यही शैली अपनाउँछन्। युक्रेनमा, उनको झर्को प्रायः आक्रमणकारी रुसतिर होइन, अधीनस्थ हैसियत स्वीकार नगरेको युक्रेनतिर परेको छ। ब्राजिल वा दक्षिण अफ्रिकाजस्ता देशसँग व्यवहार गर्दा पनि उनलाई नपरेका नीतिमाथि छिट्टै प्रहार गर्छन्। तर चीनसँग भने उनको स्वर अचम्मलाग्दो रूपमा नम्र सुनिन्छ—किनकि बेइजिङसँग अमेरिकामाथि वास्तविक लागत थोपर्न सक्ने औजार छन्। र खाडीका राजतन्त्रहरू उनलाई प्रिय छन्, किनकि तिनीहरू पैसामा डुबेका छन्—उनले सम्मान गर्ने शक्तिको एउटा रूप।
यो आधुनिक युगमा अमेरिकी नेतृत्व चलेको तरिकाको ठीक उल्टो हो।
संयुक्त राज्य अमेरिका झण्डै एक शताब्दीदेखि विश्वको प्रमुख शक्ति रहँदै आएको छ। तर उसका नेताहरूले बुझ्थे—प्रधानता केवल बाध्यतामार्फत होइनः वैधता, आश्वासन र स्वेच्छिक सहकार्यबाट पनि टिक्छ। उनीहरूले एउटा आधारभूत सत्य बुझेका थिएः संयमतासाथ प्रयोग गरिएको शक्ति दीगो हुन्छ, र सहयोगीहरूले डर होइन, सम्मान महसुस गर्दा प्रभाव बढ्छ।
राष्ट्रपति फ्रान्कलिन डी. रूजवेल्टलाई सम्झिनुहोस्। सहयोगी पक्षका लागि अमेरिका अपरिहार्य हतियार–गोदाम थियोः अमेरिकी सहायता बिना बेलायत र सोभियत संघ युद्ध छिट्टै हार्थे। रूजवेल्टले चाहेको भए चर्चिल र स्टालिनलाई याचकझैं वासिङ्टन बोलाउन सक्थे। तर ह्वीलचेयरमा रहेर गम्भीर रूपमा बिरामी हुँदाहुँदै पनि, उनीहरूलाई बराबरीका साझेदारका रूपमा भेट्न उनले क्यासाब्लांका, तेहरान र याल्टा सम्मेलनका लागि घण्टौँ यात्रा गरे—साझेदारी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा शारीरिक रूपमा नै देखाए । डाभोसमा ट्रम्पले दोस्रो विश्वयुद्ध जितेको दाबीमा जति गर्जन गरे, त्यो जित्ने मान्छेले आफैं त्यति गरेनन्।
वा बर्लिन पर्खाल ढलेको क्षणमा जर्ज एच.डब्ल्यू. बुशलाई सम्झनुहोस्। शीतयुद्ध अमेरिकाले “जितेको” थियो, र बुशले गर्व गर्न सक्थे। उनले जानाजानी गरेनन्। उनले “पर्खालमा नाच्न” नचाहेको बताए—आंशिक रूपमा पूर्वी युरोपेलीहरू आफ्नो स्वतन्त्रता आफैं जित्दै थिए भन्ने क्षण छिनिन नदिन, र आंशिक रूपमा सोभियत नेता मिखाइल गोर्बाचेभलाई अपमानित नहोस् भनेर, जसले त्यो हुन दिइरहेका थिए।
वा भारतलाई हेर्नुहोस्। पछिल्लो पच्चीस वर्षमा अमेरिकाले भारतलाई महत्त्वपूर्ण विश्व–खेलाडीका रूपमा व्यवहार गर्यो, आँकडामा हेर्दा त्यो अझै गरिब देश हुँदा पनि। त्यो सम्मान दया थिएनः रणनीतिक सहकार्य निर्माण गर्ने लगानी थियो। ट्रम्प भने केवल हिसाब–किताब हेर्छन्ः भारतको अर्थतन्त्र अमेरिकाको भन्दा सानो छ, त्यसैले अत्यधिक उच्च भन्सार शुल्क थोपरेर उसलाई निचोर्न सकिन्छ।
यो ‘हस्टल’को कला होः आफूसँग भएको दबाब प्रयोग गर, अर्कोपक्षबाट उच्चतम मूल्य असुल गर, र निलडामलाई सफलताको प्रमाण ठान। एकपटकको रियल–इस्टेट सौदामा यो चल्न सक्ला। तर दीगो व्यवसाय निर्माण गर्ने तरिका यो होइन—विश्वव्यापी दीर्घकालीन प्रभाव त झन् होइन।
दोस्रो विश्वयुद्धयता अमेरिकाले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण ठानेका धेरै स्थान छन्—पश्चिमी युरोप, नर्वे र फिनल्याण्ड, दक्षिण चीन सागरका मार्गहरू, फारसी खाडी, जापानतर्फका पहुँचहरू। तर यस अवधिमा अमेरिकाले कहिल्यै रणनीतिक महत्त्वको अर्थ भौतिक अधिग्रहण हो भन्ने निष्कर्ष निकालेन। उसले सुरक्षा गठबन्धन, पहुँच सम्झौता र अग्र–उपस्थिति मार्फत निर्माण गर्यो। ग्रीनल्याण्ड पनि यही परम्परामा पर्छ। अमेरिकाको त्यहाँ पहिले नै एक आधार राखेको छ, र बलप्रयोगभन्दा सहकार्यबाट क्षमताहरू सजिलै विस्तार गर्न सक्छ।
ट्रम्पले आफ्नो “बरफको टुक्रा” (उनले अहिले ग्रीनल्याण्डलाई यसरी सम्बोधन गर्छन्) पाउँछन् वा पाउँदैनन्—उनले शीर्षकभन्दा लामो टिक्ने एउटा कुरा भने हासिल गरिसकेका छन्? उनले अमेरिकाका सहयोगीहरूलाई एउटा पाठ सिकाएका छन् । उनीहरूले वासिङ्टनसँग काम त गर्नेछन्—किनकि शक्ति यथार्थ हुन्छ। तर उनीहरूले कम भरोसा गर्नेछन्, बढी सन्तुलन खोज्नेछन्, र चुपचाप यस्तो संसारको तयारी गर्नेछन् जहाँ अमेरिका अरूलाई उठाएर होइन, निचोर्न सकिन्छ भन्ने सम्झाएर नेतृत्व गर्छ।
तिनै युरोपेली नेताले—ट्रम्पले आफूलाई मात्र लागेको ठानेको चिसो स्पष्टतासहित—यसरी भनेका थिएः हामी सम्झिरहनेछौं।
वाशिंगटन पोष्टबाट








प्रतिक्रिया दिनुहोस्