नेपालका पुराना संसदीय दलहरू—माओवादी, एमाले र कांग्रेस—विगत लामो समयदेखि अमेरिकी साम्राज्यवादका सहायक शक्तिका रूपमा व्यवहार गर्दै आएका छन् भन्ने तथ्य अब कुनै अनुमानको विषय रहँदैन। संसद्मार्फत एमसीसी पारित गरिनु उनीहरूको आत्मसमर्पणको औपचारिक दस्तावेज थियो। तर यो आत्मसमर्पण पनि अमेरिकी साम्राज्यवादका लागि अपर्याप्त ठहरियो। कारण स्पष्ट छ—उनीहरूले एमसीसी त पास गराए, तर एसपीपीलाई औपचारिक रूप दिन सकेनन्; ‘एक चीन’ नीतिबाट पछि हट्न सकेनन्; ‘स्वतन्त्र तिब्बत’ जस्ता विभाजनकारी एजेन्डालाई अंगाल्न अस्वीकार गरे। चीनप्रति पूर्ण शत्रुता देखाउन नसकेको यही सीमितताले उनीहरू अमेरिकी दृष्टिमा अविश्वसनीय बने।
यही सन्दर्भमा अमेरिकी साम्राज्यवादले निष्कर्ष निकाल्यो कि पुराना दलहरू अब रणनीतिक रूपमा अनुपयोगी भइसकेका छन्। त्यसैले उनीहरूको सट्टा प्रत्यक्ष निर्देशनमा चल्ने, वैचारिक रूपमा खाली र राजनीतिक रूपमा आज्ञाकारी तत्त्वहरूलाई अघि सार्ने परियोजना सुरु गरियो—कठपुतली सरकार निर्माण गर्ने दीर्घकालीन योजनासहित।
अमेरिकी साम्राज्यवाद कहिल्यै एउटै पार्टी, एउटै नेता वा एउटै शक्ति माथि निर्भर हुँदैन। उसले सधैँ बहु–विकल्पीय रणनीति अपनाउँछ—एकै समयमा अनेक गोटी चलाउँछ, र आवश्यकता अनुसार तासका पत्ताजस्तै गोटी फेर्छ। नेपालमा पनि पहिले पुराना दलहरू प्रयोग गरिए; तिनीहरू असफल ठहरिएपछि नयाँ शक्ति “निर्माण” गर्ने प्रक्रिया सुरु गरियो। यही प्रक्रियाबाट कथित स्वतन्त्र पार्टीहरू र ‘घण्टी’ जस्ता प्रयोगात्मक संरचनाहरू जन्माइए—यो कुनै आकस्मिक घटना थिएन, सुनियोजित राजनीतिक इन्जिनियरिङ थियो।
नेपालमा पनि पहिले पुराना दलहरू प्रयोग गरिए; तिनीहरू असफल ठहरिएपछि नयाँ शक्ति “निर्माण” गर्ने प्रक्रिया सुरु गरियो।
जेन–जी युवाहरूको आन्दोलन सतहमा हेर्दा स्वतःस्फूर्त देखिए पनि यसको भित्री संरचना अमेरिकी साम्राज्यवादी रणनीतिद्वारा निर्देशित थियो। ठूलो संख्यामा जेन–जी युवा अनभिज्ञ रूपमा प्रयोग गरिए। उनीहरू आन्दोलनका वास्तविक निर्णायक थिएनन्, केवल इन्धन थिए। २४ गते देशभर भएका आगजनी, तोडफोड र ध्वंसात्मक गतिविधिले यो तथ्य नग्न रूपमा उजागर गर्यो। ती गतिविधि जेन–जी युवाहरूको सामूहिक राजनीतिक चेतनाबाट उत्पन्न थिएनन्; ती आन्दोलनलाई बदनाम गर्ने र दमनको औचित्य सिर्जना गर्ने रणनीतिक उपकरण थिए।
यस आन्दोलनमा अगाडि देखिएका तथाकथित ‘जेन–जी अगुवा’ हरू वास्तवमा जेन–जी नै थिएनन्। जेन–जीको उमेर सीमा २८ वर्षसम्म हो, तर आन्दोलनका सञ्चालक, प्रवक्ता र निर्णायकहरू त्यस उमेरभन्दा माथिका थिए। यसर्थ उनीहरूलाई जेन–जी भन्नु स्वयं एउटा राजनीतिक छल हो। आन्दोलनको नेतृत्व जेन–जी युवाहरूले होइन, कथित जेन–जी नामधारी अमेरिकी एजेन्डाका संवाहकहरूले गरेका थिए—यो तथ्य अब निर्विवाद भइसकेको छ।
यी कथित जेन–जीहरूको लक्ष्य जेन–जी युवाहरूको हित थिएन। उनीहरूको उद्देश्य स्पष्ट थियो—अमेरिकी साम्राज्यवादका लागि अब काम नलाग्ने पुराना दल र नेताहरूलाई विस्थापित गर्नु, र तिनको स्थानमा प्रत्यक्ष अमेरिकी निर्देशनमा चल्ने तत्त्वहरूलाई सत्तामा स्थापित गर्नु। स्पष्ट शब्दमा भन्नुपर्दा, जेन–जी आन्दोलन अमेरिकी साम्राज्यवादद्वारा निर्देशित कठपुतली सरकार निर्माणको परियोजना थियो।
आज वास्तविक जेन–जी आन्दोलन विघटन भइसकेको छ। युवा तितरबितर छन्, समूहहरू फुटेका छन्, आन्दोलन नाम मात्रको स्मृतिमा सीमित छ। तर कथित जेन–जीहरू भने अझै सक्रिय छन्—आफूलाई आन्दोलनको वैध उत्तराधिकारी घोषणा गर्दै, नयाँ सन्दर्भमा अमेरिकी रणनीतिलाई निरन्तरता दिन। यो क्रम लुकेको छैन; झन् प्रस्ट हुँदै गएको छ।
अमेरिकी साम्राज्यवाद नेपालमा केवल जेन–जी आन्दोलनमार्फत मात्र सक्रिय छैन। राजनीतिक दल, नागरिक समाज, बौद्धिक वृत्त, प्रशासन, न्यायपालिका र सुरक्षा संरचनासम्म यसको गहिरो घुसपैठ छ। अमेरिकी दूतावासको मातहतमा सञ्चालित ‘युवा काउन्सिल’ जस्ता संरचनाहरू यसको उदाहरण हुन्। यिनमार्फत पुरानो नेतृत्वलाई असफल घोषित गर्ने, युवालाई ‘उद्धारकर्ता’ का रूपमा प्रस्तुत गर्ने, र उमेरलाई राजनीति गर्ने मुख्य मापदण्ड बनाउने भ्रम फैलाइएको छ।
युवा हुनु स्वयंमा क्रान्तिकारी हुनु होइन। इतिहासले देखाएको छ—यदि युवामा सही राजनीतिक चेतना, वैचारिक स्पष्टता र देशभक्तिको भावना छैन भने उनीहरू साम्राज्यवादका सबैभन्दा सजिला औजार बन्छन्। जेन–जी उमेर समूहभित्र पनि असामाजिक, भ्रष्ट र अपराधजन्य प्रवृत्ति व्यापक छ—यो तथ्यलाई नकार्नु राजनीतिक आत्मछल मात्र हो।
राजनीतिक प्रश्न उमेरको होइन, वर्गीय चेतना र वैचारिक निष्ठाको हो। देश र जनताप्रतिको प्रतिबद्धता निर्णायक हो, जन्ममिति होइन। उमेरलाई मुख्य मापदण्ड बनाउनु साम्राज्यवादले सिर्जना गरेको एउटा सुनियोजित राजनीतिक भ्रम हो।
जेन–जी आन्दोलनमार्फत अमेरिकी साम्राज्यवादले आफ्नो उद्देश्यको ठूलो हिस्सा पूरा गरिसकेको छ—पुराना सत्तारूढ दलहरूलाई विस्थापित गरियो, संसद् विघटन गरियो, र गैरदलीय आवरणमा एनजीओ–आइएनजीओ केन्द्रित सरकार स्थापना गरियो। तर यदि यस्तो सरकार पनि पूर्ण रूपमा आज्ञाकारी बनेन भने, यसलाई पनि विस्थापित गरिनेछ—यो अमेरिकी कार्यशैलीको स्थायी नियम हो।
आज कथित जेन–जीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग उठाइरहेका छन्। यो माग लोकतन्त्रको विस्तार होइन, संसद्लाई कमजोर पार्ने र एक व्यक्तिमार्फत विदेशी स्वार्थ थोपर्ने रणनीतिक चाल हो। एकल कार्यकारी प्रणाली साम्राज्यवादी हस्तक्षेपका लागि अत्यन्त अनुकूल संरचना हो।
अन्ततः नेपालका लागि मुख्य प्रश्न जेन–जी बनाम गैर–जेन–जी होइन। प्रश्न साम्राज्यवाद बनाम राष्ट्रिय स्वाधीनताको हो। आज नेपाल विश्व साम्राज्यवादी शक्तिहरूको प्रयोगशाला बन्दै गएको छ। प्रगतिशील र साम्राज्यवादविरोधी शक्ति कमजोर देखिन्छन्, तर विकल्प यही हो—वा त चेतनापूर्ण प्रतिरोध, वा पूर्ण आत्मसमर्पण।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र भविष्य जनताको राजनीतिक चेतना र प्रतिरोध क्षमतामाथि निर्भर छ। कथित जेन–जी आन्दोलन यसको एउटा लक्षण मात्र हो—संकटको सम्पूर्ण चित्र होइन।
लेखक(९२वर्ष) नेकपा मसालका महासचिव हुन् । (यो लेखकको निजी विचार हो, लेखको विचारप्रति हाम्रो सम्पादकीयरुपमा कुनै पनि प्रकारको सम्वन्ध छैन)







प्रतिक्रिया दिनुहोस्