काठमाडौं ३१ असार । दुई कार्यकाल राष्ट्रपति भैसकेकी एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेपछि एमालेको संगठन र जनताको बहुदलीय जनवाद रक्षा र विस्तार गर्न भन्दै अलग्गै संयन्त्रको घोषणा गरेकी छन् ।

भण्डारीकी छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनको ब्यानरमा मंगलबार काठमाडौँमा मदन भण्डारीको हीरक जन्म जयन्ती बर्षभर नै मनाउन भन्दै घोषणा गरिएको मूल व्यवस्थापन समितिको संयोजक बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् ।
पार्टी महाधिवेशनको तयारीमा जुटेको र पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिने चाहना प्रकट गरिरहेको पृष्ठभूमिमा बेग्लै संयन्त्र घोषणा गरी त्यसमार्फत देशव्यापी अभियान सञ्चालनको योजना सार्वजनिक भएको छ ।
मंगलबार समिति घोषणा गर्ने कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष उषाकिरणले जबजको सान्दर्भिकता र महत्त्व मुलुकमा झन्झन् बढिरहेको भन्दै एमालेको संगठनमा लोकतन्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने पैरवी गरेकी छन् ।
एमाले पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शैलीले पार्टी आक्रान्त भएको भन्ने चर्चाका बीच भण्डारीले मदन भण्डारी फाउन्डेशन मार्फत नै नयाँ अभियान शुरु गरेकी छन् । ०५६ सालदेखि पार्टीको अध्यक्ष बन्ने बेलासम्म(२०७३) ओलीले तत्कालीन पार्टी प्रमुखहरु माधव नेपाल र झलनाथ खनालका विरुद्ध पनि यस्तै अभ्यास गरेका थिए ।
‘जबजको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ ,’ भन्दै छोरी उषाकिरण मार्फत विद्यादेवी भण्डारी ले भनेकी छन् : ‘तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन। विस्तार र सबलताको लागि जननेता (मदन) को योगदानको उजागर र जबजको प्रचार अति आवश्यक छ। यसैगरी जबजको महत्त्वपूर्ण आयामको रूपमा रहेको पार्टी जीवनको लोकतन्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने विषयलाई आत्मसात् गर्नुपर्दछ। यसबाट जननेताको बहुआयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ।’
मदनको हीरक जन्मजयन्तीका अवसरमा गर्न लागिएको कार्यक्रम एमालेको संगठन लक्षित रहेको उषाकिरणले प्रस्टै बताइन्।
अभियानको सान्दर्भिकता र औचित्य प्रस्ट्याउँदै उनले अगाडि थपिन्, ‘जनताको बहुदलीय जनवादको कार्यान्वयन गरी आमूल सामाजिक परिवर्तनको अभियानमा लागेको नेकपा एमालेप्रति जनताको आकर्षण बढ्नेछ। जननेताको ७५ औँ जन्मजयन्ती मनाउने सन्दर्भमा संगठन र जबज विस्तारको महत्त्वपूर्ण माध्यम बन्नेछ। यसलाई साकार पार्न नयाँ पुस्ता, युवा समुदाय, श्रमिक, किसान, महिला, उत्पीडित समुदाय, बुद्धिजीवी लगायत सम्बद्ध सबै पक्ष क्रियाशील हुनसमेत आह्वान गर्दछौं।’
यसै पृष्ठभूमिमा मदनको ७५ औँ जन्मजयन्ती मनाउने निर्णयमा पुगेको र यस कार्यलाई फलदायी, व्यापक र व्यवस्थित बनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेको उनले जानकारी दिइन्।
यस अभियानअन्तर्गत विचार गोष्ठी, छलफल तथा अन्तर्क्रिया, कविता, वादविवाद, हाजिरी जवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलाप २०८२ र २०८३ सालभरि गरिने उषाकिरणको भनाइ छ। २०८४ मा अभियानको समीक्षासहित समापन गरिने उनले बताइन्।
संयन्त्रमा कोको छन् त ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको जननेता मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिमा हाल ४ सदस्यीय सल्लाहकार समिति बनाइएको छ । यसमा पूर्वमन्त्री तथा चीनका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, कोसी प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वमन्त्री युवराज कार्की र एमालेकै पाका नेता वाचस्पति देवकोटा रहेका छन्।
डोरमणि पौडेल संयोजक रहेको मूल व्यवस्थापन समितिमा सहसंयोजकहरू इन्सेकका पूर्व अध्यक्ष सुशील प्याकुरेल, प्राडा गणेशमान गुरुङ र सचिव डा भेषराज अधिकारी छन्। अधिकारी भण्डारी राष्ट्रपति रहेका बेला उनका निजी सचिव थिए ।
प्याकुरेल पूर्वराष्ट्रपति भण्डारी शीतलनिवासमा हुँदा सल्लाहकारको भूमिका थिए ।
गुरुङ गण्डकी विश्वविद्यालयका निवर्तमान कुलपति हुन्।
भण्डारी राष्ट्रपति छँदा शीतलनिवासमै सल्लाहकार तथा सचिवालयमा रहेका लालबाबु यादव, लक्ष्मी कार्की लगायत पनि समितिमा रहेका छन्।
समितिमा पूर्वराजदूतहरू नारद भारद्वाज, उदयराज पाण्डे, डा अर्जुन कार्कीसमेत छन्। नेपाल सरकारका पूर्वसचिव (कानुन) उदय नेपाली श्रेष्ठ पनि यस समितिमा रहेका छन्।
थप सदस्यहरू सानुकुमार श्रेष्ठ, (पूर्व जिविस सभापति काठमाडौं) गोपाल गुरागाईं,(उज्यालो रेडियो नेटवर्क) विनोद ढकाल (एमाले पूर्व अध्यक्ष मोरंग) पर्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल,(पूर्व अध्यक्ष, इन्सेक) जयकुमार राई, राज मोहम्मद राय लगायत छन्। यस्तै मणिशंकर निधि, नवराज शर्मा (पूर्व जिविस सभापति म्याग्दी) नरेन्द्रराज पोखरेल, नवराज सिलवाल,(पूर्व सांसद लपु) कृष्ण दाहाल, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, प्रकाश गौतम र नारायण खतिवडा पनि सदस्य छन्।
जगन्नाथ नेपाल, शुभराज पोखरेल, इन्द्रबहादुर तामाङ, श्याम बस्नेत, वचनबहादुर सिंह, गोविन्द कलौनी, महेश्वर पाठक, नरेश रोकाया, टेकेन्द्र बस्नेत र टपेन्द्रबहादुर शाही पनि समितिमा छन्। विकास लम्साल(पूर्व सांसद, पर्वत) राजेश राई(पत्रकार) डा निर्मल विक, डा कृष्ण अधिकारी, डा दीपेन्द्र श्रेष्ठ, प्राडा उपेन्द्र कोइराला, सोमकुमार राई, राजकुमार राई, खिम पन्थी र कमला ओली पनि मूल व्यवस्थापन समितिमा छन्।
गोपाल थापा, विनोद खड्का, खड्गबहादुर खत्री, इन्द्रमान स्याङ्तान, नारायण बन, रघुनाथ खुलाल, रामचन्द्र राई, मीरा आचार्य, डिलाराम घिमिरे, भगवती गौतम, हीरा थापा, जितेन्द्र श्रेष्ठ, भूमिका सुब्बा, केशव पोखरेल, प्रेमनाथ अधिकारी र रामेश्वर श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन्।
आरसी न्यौपाने, सुमन पुरी, प्रकाश पौडेल, शान्ति पाख्रिन, मोती विक र माधव शर्मा(पूर्व प्रेस सल्लहाकार) पनि सदस्यकै सूचीमा छन्।
पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन्।
।
ुमेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रूपमा, केमा बोलाउनुहुन्छु उनले भनिन्।
विधान महाधिवेशनलाई कसरी लोकतान्त्रिक बनाउने भन्नेमा आफू विचारशील रहेको समेत उनले बताएकी थिइन् ।
साथै संसद विघटनको घटनाले आफूलाई सधैंभर पछ्याइरहने आफूलाई जानकारी रहेको भन्दै थप व्यख्या नगरेपनि उनले तत्कालीन ओली मन्त्रिपरिषद्ले गरेको निर्णय आफूले संवैधानिक वाध्यताका कारण कार्यान्वयन गरेको संकेत गरेकी थिइन् ।
कार्यक्रममा दिइएको जानकारी अनुसार, हीरक जयन्तीका अवसरमा वर्षैभरि विभिन्न वैचारिक तथा रचनात्मक कार्यक्रमहरू गरिनेछ। ०८४ मा जन्म जयन्ती कार्यक्रमको समीक्षासहित समापन गरिनेछ।
मूल आयोजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने पनि बताइएको छ। त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। विद्या भण्डारी मदनकी धर्मपत्नी हुन्।
मदनले ल्याएको जनताको बहुदलीय जनवाद ९जबज० को कार्यक्रमलाई एमालेले मार्गदर्शक सिद्धान्त मान्दै आएको छ।
मदनको हीरक जन्म जयन्ती कार्यक्रमका दौरान जबजकै विषयमा विभिन्न बहस, छलफल र प्रचारात्मक कार्यक्रम गर्ने तयारी छ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणासँगै मदन भण्डारी फाउन्डेसनमार्फत यो समिति गठन गरिएको हो। पूर्वराष्ट्रपतिको भण्डारीले पार्टी राजनीतिमा क्रियाशील हुने जनाउ दिएपछि पार्टीको संस्थापन पक्ष भने असन्तुष्ट छ।
उषाकिरणको पूरा वक्तव्य :
सर्वप्रथम, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस पत्रकार भेटघाट कार्यक्रममा पाल्नुभएका सबैलाई स्वागत गर्दछु।
जननेता मदन भण्डारी २००९ साल असार १४ गते ढुङ्गेसाँघु, ताप्लेजुङ जिल्लामा जन्मनु भएको थियो। उहाँको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परेर अवसान भएको थियो। युवावयमै जीवन गुमाउनु भएका जननेताको भौतिक शरीर हामीवीच रहेन, तर उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) जसले उहाँलाई नवीन विचारकको रूपमा स्थापित गरायो, त्यो महत्वपूर्ण वैचारिक पूँजी यथावत छ र भविष्यमा समेत यसले नेपाली समाजको रूपान्तरण प्रक्रियालाई मार्गदर्शन गरिरहनेछ। हाम्रो राष्ट्रको पहिचान अभिवृद्धि गर्न, राष्ट्रियताको प्रवर्द्धन गर्न र देशप्रेमको भावना जागृत गर्न आफ्नो छोटो जीवनकालमा जननेता भण्डारीले निर्वाह गर्नुभएको ऐतिहासिक राजनीतिक भूमिकालाई नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। यस्ता महान व्यक्तिको सम्मान र सम्झनामा विविध रचनात्मक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउनु हाम्रो कर्तव्य एवम् दायित्व हो। आजको यस अवसरमा म जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
जबजको मार्गदर्शनमा नेकपा ९एमाले० ले २०५१ सालमा भएको आम निर्वाचनमा संसदमा सबैभन्दा बढी स्थान जितेर मुलुकमा पहिलो कम्युनिस्ट सरकार स्थापना गर्न सफल भएको थियो। नौ महिनाको अल्पमतको सरकारले कार्यान्वयन गरेका सामाजिक सुरक्षा, प्रगतिशील सुधार र सामाजिक न्यायका कार्यक्रमले एमालेको लोकप्रियता ह्वात्तै बढाएको थियो। बितेका तीस वर्षमा एमालेले स्थानीय स्तर प्रदेश तथा केन्द्रमा चुनाव जितेर नेतृत्व गर्दै देश र जनताका पक्षमा उल्लेखनीय कार्यहरू गरी मुलुकमा कम्युनिस्ट पार्टीको विस्तार, भूमिका र स्थानलाई व्यापक बनाएको छ। अब यस पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरेर जबजले अगाडि सारेका राजनीतिक, आर्थिक तथा सामाजिक नीतिहरूको कार्यान्वयन गरी सामाजिक(आर्थिक रूपान्तरण प्रक्रियालाई थप उचाईमा पुऱ्याउनु पर्ने खाँचो छ। स्वाधीन, आत्मनिर्भर र सबल अर्थतन्त्र निर्माण गरी मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउनु पर्ने आवश्यकता छ। मुलुकमा न्याय र समानतामा आधारित समाजवाद स्थापना गरी त्यसको सफल कार्यान्वयन गर्नुपर्ने आकांक्षा साकार पार्नुछ।
ुयस परिप्रेक्ष्यमा जननेताले प्रतिपादन गर्नुभएको सिद्धान्त जबजको सान्दर्भिकता र महत्व मुलुकमा झन्झन् बढिरहेको छ। यस सिद्धान्तको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ। तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन। विस्तार र सबलताको लागि जननेताको योगदानको उजागर र जबजको प्रचार अति आवश्यक छ। यसैगरी जबजको महत्वपूर्ण आयामको रूपमा रहेको पार्टी जीवनको लोकतान्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने विषयलाई आत्मसात गर्नुपर्दछ। यसबाट जननेताको बहुआयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ।
जनताको बहुदलीय जनवादको कार्यान्वयन गरी आमूल सामाजिक परिवर्तनको अभियानमा लागेको नेकपा ९एमाले० प्रति जनताको आकर्षण बढ्नेछ। जननेताको ७५ औँ जन्मजयन्ती मनाउने सन्दर्भमा संगठन र जबज विस्तारको महत्त्वपूर्ण माध्यम बन्नेछ। यसलाई साकार पार्न नयाँ पुस्ता, युवा समुदाय, श्रमिक, किसान, महिला, उत्पीडित समुदाय, बुद्धिजीवी लगायत सम्बद्ध सबै पक्ष क्रियाशील हुनसमेत आव्हान गर्दछौं। यसै पृष्ठभूमिमा जननेताको ७५ औँ जन्मजयन्ती मनाउने निर्णयमा हामी पुगेका हौं। यस कार्यलाई फलदायी, व्यापक र व्यवस्थित बनाउन वागमती प्रदेशका पूर्व मुख्यमन्त्री श्री डोरमणि पौडेलको संयोजकत्वमा जननेता मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेका छौं। विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद, हाजिरी जवाफ र खेलकूद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलापका साथ जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरि मनाइनेछ। समीक्षासहित २०८४ साललाई समापन वर्षको रूपमा ऐतिहासिक रूपमा सफल पारिनेछ।
आमसञ्चार जगतसहित सम्पूर्ण पत्रकार मित्रहरूले जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने हाम्रो निर्णय, महत्व र उपादेयतालाई गम्भीरतापूर्वक आत्मसात गर्दै सदाझैँ यस अभियानको प्रचार प्रसार गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।








प्रतिक्रिया दिनुहोस्