काठमाडौं ७ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्।
भारतका विद्युतमन्त्री खट्टर यही वैशाख ९ गते दुई दिने भ्रमणका लागि नेपाल आउने भएका हुन्।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले नेपाल आउन उनलाई निमन्त्रणा गरेका थिए।
भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न भएका प्रसारणलाइनको उद्घाटन गर्ने कार्यक्रम छ।
ऊर्जा मन्त्रालयका अनुसार कोशी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ।
उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्।
त्यसबाहेक दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारणलाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।
वैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री खट्टर १० गते पशुपतिको दर्शन गरेर साँझ भारत फर्किनेछन्।
प्रतिक्रिया दिनुहोस्