काठमाडौं, १९ माघ । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन। बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन्।
उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।नेपाल ग्यासका बिक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले बताए। उनले भने, ‘घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यास दिँदैन, डिपोले कम्पनीमै जानु त्यहाँ ग्यास बाँडेको छ भन्यो। डिपोमा १०–१५ दिनदेखि पालोमा राखे तर पालो नै आएन। पालोमा राख्दा ढिला हुन्छ भनेपछि बालाजु औद्योगिकमा रहेको कम्पनीको कार्यालयमै आएको हो। हिजो अस्ती कम्पनीले ग्यास बाँडेको छ भनेर आएको आज बाँडेको रहेनछ, बिचल्ली हुने भयो।’उनले बजारमा ग्यासको चरम अभाव हुँदा घरमा परिवारको बिचल्ली हुने अवस्था आएको बताए। घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्ली अवस्था आएको घिमिरेले बताए।बजारमा नेपाल ग्यास कहीँकतै नपाएपछि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिल बस्ने प्रेम साहले ग्यास सकिएको र समयमै नपाएको बताए। उनले नेपाल ग्यास नपाएपछि आगोमा पकाएर जीविकोपार्जन गरिरहेको उल्लेख गरे। आफूले कहिकतै ग्यास नपाउँदा बिजोग भइरहेको उनको भनाइ छ।धार्दिङ घर भई हाल काठमाडौँमा बस्दै आभएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताए।
उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ। नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए।
उनका अनुसार त्यो मात्रामा ढुवानीमा केही समस्या रहँदा समस्या भएको हो। अहिले समस्या हल भए पनि बजारको चक्र केही गडबड भएकाले पुरानै अवस्थामा आउन केही दिन लाग्ने उनले बताए।
उनले भने, ‘हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउनु हो। यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यले पनि भूमिका खेल्नुपर्छ। लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारणले समस्या आएको हो। उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन। पाइपलाइनको कुरा छिटो गर्ने हो भने यस्ता समस्या बारम्बार आउने थिएनन्।’
भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताए। उनका अनुसार जाडो महिनामा यो संख्या अझ बढ्छ। पछिल्लो दिनमा जति डिमाण्ड हो त्योभन्दा बढी नै ग्यास बजारमा गएको उनको दाबी छ। उनका अनुसार बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदै छ।
नेपाल आयल निगमले नेपाल ग्याससहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए।
उनले भने, ‘नेपाल ग्याससहितमा केही समस्या देखापरेको छ। उनीहरुले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो। ग्यास दुवानी गर्ने एउटा पनि ढुवानीकर्ता छैनन्। जति पनि छन् भारतीयहरु छन्। तिनैमाथि हामी निर्भर भएका छौँ। समयमै ढुवानीकर्ता भएनन् भने पनि हामीलाई समस्या हुने गरेको छ, अहिले त्यस्तै समस्या आएको हो। अहिले उद्योगीहरुलाई बोलाएर अभाव हटाउन र इण्डियन अयल कर्पोरेससँग पनि निगमले कुराकानी गरिरहेको छ।’
उनले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताए। निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्नेसमेत चेतावनी दिएको छ।








प्रतिक्रिया दिनुहोस्