झापा, ८ चैत । तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुन थालेको छ ।
प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना परीक्षण हुनथालेको हो ।
द्रुत प्रयोगशालाले थोक बजारबाट कृषि उपजको आफै नमूना संकलन गरेर विषादीको अवशेष परीक्षण गर्दै आएको छ । परीक्षणको रिपोर्ट एक घण्टाभित्रै निस्कने गरेको छ । प्रयोगशालाले नियमित जाँच गर्दा निस्कने रिपोर्ट निर्देशनालयमा पठाउने काम गरिरहेको छ ।
विर्तामोडमा जाँचिएका केही नमूनामा भने मानव स्वास्थ्यलाई प्रतिकूल असर पु-याउने तहसम्मको विषादी फेला परेको रिपोर्ट आएको बताइएको छ । “हामी नमूना परीक्षण गरेर त्यसको रिपोर्ट काठमाडौँ पठाउने काम गर्छौँ,” प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले भन्नुभयो–“कारबाही गर्ने अधिकार हामीलाई छैन ।”
गत जेठदेखि विर्तामोडको द्रुत प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्न थालेको हो । यस अवधिमा प्रयोगशालाले २६० वटा नमूना परीक्षण गरिसकेको छ । प्रयोगशालाले विषादीको अवशेष भेटिएका कृषि उपजका बारेमा सम्बन्धित व्यापारीलाई मौखिक रुपमा सचेत गराउँदै आएको छ । हानिकारक तरकारी तथा फलफूल नष्ट गर्ने काम भने प्रयोगशालाले गदैन् । सो काम गर्ने अधिकार बजार विकास समितिसँग भएको खरेलले बताउनुभयो ।
विषादीको मात्रा भेटिएका कृषि उपजको बिक्रीमा बन्देज लगाउनु पर्नेे उपभोक्ता संरक्षण मञ्च झापाकी अध्यक्ष मञ्जु सिटौला पोखरेल बताउनुहुन्छ । विषादी भएका वस्तु नष्ट गर्न नगरपालिका, गाउँपालिका, स्थानीय प्रशासन, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघले सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ । जाँच गर्दा भारतबाट आयातित् काउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको छ ।



















प्रतिक्रिया दिनुहोस्