काठमाडौं, २८ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे नेपाल र भारतबीच सैद्धान्तिक सहमति भएको भए पनि भ्रमणको मिति भने अझै तय हुन बाँकी रहेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भ्रमण तत्काल नहुने र त्यसअघि आवश्यक कूटनीतिक तथा प्राविधिक तयारी पूरा गरिनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि बालेन्द्र शाहलाई पठाएको बधाई सन्देशसँगै भारत भ्रमणको निम्तोसमेत दिएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले “उचित समयमा भारत भ्रमण गर्ने” प्रतिबद्धता व्यक्त गरेका थिए।
शनिबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको वार्तामा प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भएको जानकारी दिए। यद्यपि भ्रमणको मिति तय गर्नुअघि लामो तयारी आवश्यक रहेको उनले स्पष्ट पारे।
मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भएको साइडलाइन भेटवार्तामा नेपालमा सम्पन्न निर्वाचन, नयाँ सरकारका प्राथमिकता तथा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री खनालले बताए।
उनका अनुसार नयाँ सरकारले नेपालको परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धका प्राथमिकताबारे समीक्षा गरिरहेको छ। “नेपाल र भारतबीच गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ। हामी त्यसको समग्र अध्ययन गरिरहेका छौँ र प्राथमिकता निर्धारणपछि विभिन्न संयन्त्रमार्फत संवादलाई अगाडि बढाउनेछौँ,” मन्त्री खनालले बताए।
दुई देशबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्र रहेको उल्लेख गर्दै ती संयन्त्रहरूलाई पुनः सक्रिय बनाएर संवाद र सहकार्यलाई थप सघन बनाउने सहमति पनि भएको उनले जानकारी दिए।
यसैबीच प्रधानमन्त्रीस्तरको भ्रमणअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने सम्भावना रहेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्रीको भ्रमण एक महिनाभित्र हुन सक्नेछ। उक्त भ्रमणलाई सद्भावना भ्रमणका साथै उच्चस्तरीय भ्रमणको प्राविधिक तयारीका रूपमा हेरिएको छ।
मन्त्री खनालका अनुसार भारतीय पक्षले विदेश सचिवलाई नेपाल पठाएर प्रारम्भिक कूटनीतिक तयारी अघि बढाउने संकेत दिएको छ। त्यसपछि मात्रै दुवै पक्षको सहमतिमा प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय गरिनेछ।
स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्रीको भारत भ्रमण हुने सम्भावना पनि रहेको छ, यद्यपि त्यसबारे अन्तिम निर्णय भइसकेको छैन। उच्चस्तरीय भ्रमणअघि परराष्ट्रमन्त्रीस्तरको तयारी भ्रमण पुरानो कूटनीतिक अभ्यासका रूपमा रहँदै आएको छ।
सम्मेलनकै क्रममा मन्त्री खनालले भुटान, बंगलादेश, मौरिसस र सिंगापुरका विदेशमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।








प्रतिक्रिया दिनुहोस्