काठमाडौं १३ फागुन । नेकपा माओवादी केन्द्र ले तराईरमधेश जागरण अभियान शुरू गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराईरमधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बताउनुभयो । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उहाँको दाबी छ ।
यस्तै उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।
यसैगरी पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्