काठमाडौं, ३० पुस–एबीसी टिप्पणी । नेपालको राजनीतिक इतिहासमा व्यक्तिगत महत्वाकांक्षा र सत्ता लिप्साले बारम्बार राष्ट्रिय एकता र संस्थागत संरचनालाई कमजोर बनाएको छ। हालैको घटनाक्रमले यो प्रवृत्तिलाई फेरि प्रमाणित गरेको छ। २०२५ सेप्टेम्बरमा भएको जनरेशन जेड विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि सुरु भएको राजनीतिक अस्थिरताले अब नेपाली कांग्रेस जस्तो ऐतिहासिक दललाई समेत विभाजनको संघारमा पुर्याएको छ। शेरबहादुर देउवा र केपी ओलीबीचको बारम्बारको अराजनीतिक तथा असंसदीय गठजोडले देशलाई भूराजनीतिक खेलको मैदान बनाएको आरोप लाग्दै आएको छ । त्यो देउवा–ओली गठजोडको प्रत्यक्ष परिणामस्वरूप पार्टीहरू कमजोर भएका छन् र अब कांग्रेस दुई खेमामा विभाजित भएको छ। यो संकटले नेपालको लोकतान्त्रिक यात्रा र राजनीतिक स्थिरतामा गम्भीर प्रश्न खडा गरेको छ।

देउवाको दोस्रो फुट र २०५९ को पुनरावृत्ति
नेपाली कांग्रेसको इतिहास विभाजन र पुनर्मिलनको शृंखला हो, तर यसको मूलमा व्यक्तिगत स्वार्थ र सत्ता संघर्ष रहन्छ। २०५९ सालमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको विवादपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी पार्टी फुटाएका थिए।त्यतिमात्र होइन, देउवाले लोकतन्त्रलाई दरबारमा लगेर बुझाएका थिए । त्यो ज्ञानेन्द्र–देउवाको प्रतिगमन सच्याउन दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको शक्ति लगाउनु परेको सर्वविदितै छ। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा दलहरूलाई सिध्याउने योजना बनाएको थियो । तर त्यो, षडयन्त्र असफल पारियो, पर्यो ।
आज फेरि त्यही इतिहास दोहोरिएको छ। २०८२ असोजमा २४८८ जना (५४ प्रतिशतभन्दा बढी) महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन आयोजना गरेपछि देउवा पक्षले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई विशेष महाधिवेशन पक्षधरले ुअवैधानिकु र ुकिर्तेु भनेका छन्। गगन थापाले भने, “कांग्रेस कसैको प्राइभेट कम्पनी होइन, हामी गणेशमान सिंह र वीपी कोइरालाको सन्तान हौं।” यो फुटले कांग्रेसलाई मात्र होइन, नेपालको लोकतान्त्रिक संरचनालाई नै गम्भीर जोखिममा पारेको छ।

जेनजी विद्रोहः देउवा–ओली गठजोडको पहिलो उपक्रम
२०२५ सेप्टेम्बर ८ मा सुरु भएको जेनजी विद्रोहले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ठूलो आन्दोलन र विध्वंसको रूप लियो । यो विद्रोहले केपी ओलीको सरकार ढाल्यो, दर्जनौंको ज्यान गयो र अन्तरिम सरकार गठन भयो। यो विद्रोहलाई युवा असन्तुष्टिको स्वाभाविक अभिव्यक्ति भनिए पनि, यसको पछाडि देउवा–ओली गठजोडको कुप्रभावले निम्त्याएको भुराजनीतिक दाउपेचको परिणम थियो भन्ने समयक्रमममा स्पष्ट भइरहेको छ ।
भूराजनीतिक दृष्टिकोणबाट नेपाल भारत र चीनबीचको संवेदनशील बफर जोन हो। देउवा–ओली गठजोडले नेपालको विदेश नीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको देखिन्छ। ओलीको ुचीन कार्डु र देउवाको ुअमेरिकीकार्डु ले नेपाललाई दुवै छिमेकीको दबाबमा पारेको थियो र छ। जेनजी विद्रोहपछि पनि यो गठजोड कायम रहँदा देश आर्थिक संकट, युवा असन्तुष्टि र राजनीतिक अस्थिरतामा फसेको छ। विदेशी शक्तिहरू (भारत, चीन, अमेरिका) ले यो अवस्थालाई उपयोग गर्दै नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप बढाएका छन्। यो पहिलो उपक्रम थियो जसले देशलाई भूराजनीतिक जोखिममा धकेल्यो।
दोस्रो उपक्रमः विशेष महाधिवेशन र कांग्रेस फुट
जेनजी विद्रोहपछि कांग्रेसभित्र रुपान्तरणको माग चर्कियो। गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन र नीति सुधारको माग गर्दै विशेष महाधिवेशन आयोजना गरे। भृकुटीमण्डपमा जारी यो महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई विघटन गरेको छ र गगन थापालाई सभापतिको एकल उम्मेदवार बनाएको छ।
देउवा पक्षले यो महाधिवेशनलाई अवैधानिक ठहर्याउँदै वैशाखमा नियमित १५औं महाधिवेशनको तयारी गरेको छ। तर विशेष पक्षधरले रुख र चारतारे झन्डा आफूसँग रहेको दाबी गर्दै “हामी नै आधिकारिक कांग्रेस हौं” भन्ने दावी स्वभाविक छ । यो फुट देशी–विदेशी शक्ति केन्द्रको उक्साहटमा भएको आरोप लाग्छ। एमसीसी जस्ता मुद्दामा देउवाको निर्णयले चीनको दबाब बढाएको र भारतसँगका सीमा विवादले तनाव उत्पन्न गरेको छ।त्यसमाथि बीआरआई, जीएसआई लगायतका प्रकरणले देशलाई अरु बढी संवेदनशील बनाएको छ नै ।
गगन थापाले महाधिवेशनलाई ुविद्रोहु भनेका छन् र पार्टी रुपान्तरणको आवश्यकता औंल्याएका छन्। यो फुटले चैत ५ (मार्च ५, २०२६० मा हुने संसदीय निर्वाचनमा कांग्रेसको प्रदर्शनलाई गम्भीर असर पार्नेछ। अब चुनाव नै हुने कि नहुने भन्ने प्रश्न स्वतः अगाडि आएको छ। नेपालको सवैभन्दा पुरानो पार्टीभित्रको संकट समाधान नगरीकन देश चुनाव जान यसै पनि सक्दैन ।
भूराजनीतिक प्रभाव
देउवा–ओली गठजोडले नेपालको सन्तुलित कूटनीतिलाई व्यक्तिगत स्वार्थमा परिणत गरेको थियो नै । नेपालको वैश्विक छवि खस्किएको छ, जसले आर्थिक सहायता र लगानीमा असर पार्न सक्छ।जेनजी विद्रोह र कांग्रेस फुटले विदेशी हस्तक्षेपलाई थप बल पुर्याउने खतरा छ। यस्तो बेला देशले सन्तुलित विदेश नीति अपनाउने राजनीतिक दलको अभावलाई टड्कारो बनाउने छ । विभाजित कांग्रेसका गगन र देउवा गुटलाई भरपूर रुपमा उपयोग गर्नेछ ।
लोकतन्त्र र राष्ट्रिय राजनीतिमा असर
कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता दल हो। यो फुटले दलहरूको विश्वसनीयता घटाएको छ र युवा पुस्तालाई राजनीतिबाट टाढा बनाउने जोखिम छ। निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिक मान्यता दिने भन्ने निर्णायक हुनेछ। यदि सहमति जुटेन भने यो फुट दीर्घकालीन हुन सक्छ र लोकतान्त्रिक यात्रालाई थप चुनौती दिनेछ।
गगन–विश्वको आधारभूत चुनावी नीतिका सन्दर्भमा नेकपा एमालेसँग एकता गर्न नहुने भन्ने प्रस्तावका विरुद्ध देउवा गुटले विभाजनको बाटो रोजेको छ । यो सवैभन्दा बढी देउवागुटकै लागि आत्मघाती हुने निश्चित छ । सहजै बुझ्न सकिने कुरा के छ भने त्यसै लहडको भरमा देउवागुटको सम्पूर्ण शक्तिका विरुद्ध बहुमत बढी महाधिवेशन प्रतिनिधिहरु किन भृकुटी मण्डपमा जम्मा भएका हुन् भन्ने बुझ्ने कमजोरी गर्न हुँदैन ।
चुनौती र सम्भावना
नेपालको वर्तमान संकट देउवा–ओली गठजोडको उपज हो, जसले जेनजी विद्रोहबाट सुरु भएर कांग्रेस फुटसम्म पुगेको छ। देउवाको नेतृत्वमा पार्टी एकता बचाउन असफल भएको देखिन्छ, जबकि गगन–विश्वप्रकाशले रुपान्तरणको जोखिमपूर्ण बाटो रोजेका छन्। अब नयाँ पुस्ताको नेतृत्व र सन्तुलित कूटनीतिले मात्र देशलाई अगाडि बढाउन सक्छ। अन्यथा, नेपालको लोकतान्त्रिक यात्रा थप जोखिममा पर्नेछ। यो संकटबाट सिकेर दलहरूले आन्तरिक लोकतन्त्र मजबुत बनाउनु आवश्यक छ।








प्रतिक्रिया दिनुहोस्