युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र पीएसभी अन्तिम १६ मा पुगेका छन् ।
गएराति भएको खेलमा स्पेनिस क्लब रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी ३–१ ले पराजित भयो । एमबाप्पेले खेलको चौथो, ३३ औं र ६१ औं मिनेटमा गोल गरे । सिटीका निको गोन्जालेजले इन्जुरी समयमा एक गोल गरे । रियल प्लेअफमा समग्रमा ६–३ गोलले अगाडि रह्यो । पहिलो लेगमा रियल ३–२ ले विजयी भएको थियो । सिटी बाहिरीएको छ ।
त्यस्तै स्टेड ब्रेस्टोइसलाई दोस्रो लेगमा ७ गोलको फराकिलो अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । एउटै खेलमा सात फरक खेलाडीले गोल गरेको च्याम्पियन्स लिग इतिहासमा यो पहिलो पटक हो । पीएसजी प्लेअफमा समग्रमा १०–० गोलले अगाडि रह्यो । पहिलो लेग उसले ३–० गोलले जितेको थियो ।
त्यस्तै डर्टमन्डले दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३–० को नतिजासहित अन्तिम १६ मा पुग्यो । डर्टमन्डले पहिलो लेगमा ३–० गोलको अग्रता लिएको थियो । फिलिप्स स्पोर्ट वेरेनिगिङ्ग (पीएसभी) ले युभेन्ट्सलाई ३–१ गोलले हरायो ।
पहिलो लेगमा युभेन्ट्स २–१ ले अघि भए पनि पीएसभी समग्रमा ४–३ गोलले अघि रह्यो । इटालियन क्लब युभेन्ट्स बाहिरीयो । च्याम्पियन्स लिगमा शीर्ष आठ टोलीले यसअघि नै सीधै आउँदो मार्चमा हुने राउन्ड अफ–१६ मा स्थान पक्का गरिसकेका थिए ।
शीर्ष आठमा पुग्न नसकेका टोलीबीच प्लेअफ भएको हो । गएरातिका खेलसँगै लिगको प्लेअफका खेल सकिएका छन् ।







प्रतिक्रिया दिनुहोस्