काठमाडौं ६ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्यान्डलाई झड्का लागेको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले जनाएको छ ।
फर्गुसनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । फर्गुसनको ठाउँमा आएका जेमिसनले न्युजिल्यान्डका लागि ४५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०२३ को सेप्टेम्बरमा मिरपुरमा बङ्गलादेशसँग खेलेदेखि उनले एकदिवसीय क्रिकेट खेलेका छैनन् ।
फर्गुसनको अनुपस्थितिमा न्युजिल्यान्डलाई च्याम्पियन्स ट्रफी जित्ने आशामा थप धक्का लागेको छ । यही हप्ताको शुरूमा तीव्र गतिका बलर बेन सियर्स चोटका कारण बाहिरिएपछि उनको ठाउँमा जेकब डफी टोलीमा आएका छन् ।
भोलिदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्