
बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ ।
सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को-को हुन् भन्ने पूर्ण खुलेको छैन ।
‘कुन कर्मचारी कुन कार्यालयको भन्ने जानकारी हुन सकेन,’ वडा प्रहरी कार्यालय प्रमुख रामबहादुर चन्दले भने, ‘कार्यालय कम्पाउन्ड भित्रैबाट मदिरा अत्यधिक सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकामध्ये कुटपिटबाट हात भाँचिएका भट्टलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको पनि चन्दले जनाए । पक्राउ परेका कर्मचारीसँग घूस रकम लिएको लाखौं रुपैयाँ रहेको मालपोत कार्यालयका एक कर्मचारीको दाबी छ ।
ती कर्मचारीले भने, ‘एक सातासम्म उठेको रकमका विषयमा कुरा नमिलेका कारण कुटाकुट भएको हो ।’ उनका अनुसार नापीका २ र मालपोतका ४ कर्मचारी हुन् । होलीका दिन मालपोतको एउटा कोठामा बियर र मदिरा सेवन गर्दै हिसाबकिताब गर्न थालेपछिनापीका कर्मचारीले उठाएको घूस रकमदिन नमानेपछि कुटाकुट भएको कर्मचारी स्रोतको भनाइ छ ।
‘मदिरा सेवन गरेका कर्मचारी पक्राउ परेको जानकारी पाएको हुँ,’ प्रजिअ गोविन्द रिजालले भने, ‘कारबाहीका लागि प्रहरीमा पठाइएको हो, त्यसपछिको जानकारी हुन सकेको छैन ।’ पक्राउ परेका कर्मचारीका विषयमा प्रहरीले धेरै कुरा लुकाएको मालपोत कार्यालयका एक कर्मचारीको आरोप छ । ती कर्मचारी भन्छन्, ‘पक्राउ परेका कर्मचारीसँग रहेको घूस रकम हिसाबकिताब गरेको डायरीसमेत प्रहरीले लुकाएको छ ।’ कान्तिपुरमा खबर छ ।


















प्रतिक्रिया दिनुहोस्