लेखक– विष्णु शर्मा / देशमा आमूल परिवर्तन भएको छ । अहिलेसम्म पुराना दलहरूले आफूहरूलाई स्पष्ट बहुमत आउन नसकेका कारण धेरै कानुन निर्माण र नीति निर्माणमा समस्या भएको भन्दै आई रहेका बेलामा पछिल्लो राजनीति घटनाक्रमले रास्वपालाई झण्डैं दुई तिहाइ मत जनताले प्रदान गरेका छन् । जनताको जनजीविकाका धेरै सावलहरु अव सहजै समाधान हुनेछन् भन्ने आशा जनताले गरेका छन् ।
यहाँ सबैभन्दा महत्त्वपूर्ण विषय भनेको रास्वपाले समानुपातिक सूचीमा जेन–जी आन्दोलनका घाइते र सहिद परिवारका सदस्यहरूलाई राख्यो । अहिले जनमत अनुसार ती व्यक्तिहरूको प्राथमिकता पहिलो बनाउनुपर्ने विषयमा कता कता उल्झन देखिएको आभास घाइते र अपाङ्गहरूले गरेका छन् । जनेजी आन्दोलनको आइकोनिक जुत्ता जुन जुत्ता सुशासनको पक्षका लागि यस अघिको निर्वाचनमा सबैको मन मस्तिष्कमा बस्यो ।
दैलेखको नारायण नगरपालिका ८ तर्ताङ्गका २८ बर्से प्रकाश बोहराको सेतो जुत्ता मुलुकमा सुशासनको लागि लडाइ गर्दा रगतले लतपतियो । उनी घाइते भएपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगियो केही समयको उपचार पछि देशमा चुनावको माहौल सँगै उनिपनि घाइते अवस्थामै चुनावी प्रचारमा होमिए । गाउँ बस्तीसम्म पुगेर उनले रास्वपाका प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवारहरूलाई मत मागे ।
उनी घाइते भएकै बेलामा यो पंतिकारले उनलाई काठमाडौँ ट्रमा सेन्टरमा भेटेको स्मरण अहिले पनि ताजै छ उनी चुनावमा होमिदा पनि उनले भनेका थिए “ आफ्नो खुट्टाको उपचार गर्न न्यूनतम पाँच वर्ष लाग्छ पाँच वर्षसम्म तीन वटा अप्रेसन गर्नुपर्ने छ । अव बन्ने सरकारले उनी जस्तै धेरै घाइतेहरूको दिगो उपचारको व्यवस्था गर्नुपर्ने छ । दीर्घकालीन रोजगारीको व्यवस्थापन र जीवन निर्वाहका विषयहरूमा कानुन निर्माण गर्नुपर्ने छ । सहिद परिवार र घाइतेहरूको अपमान नहुने गरी संसद्मा आफ्नो प्रतिनिधित्व गरेर प्रभावकारी काम गर्नका लागि चुनावमा होमिएको छु ।
गत भदौ २३ गते संसद् भवन अगाडिको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर प्रकाश ढलेका थिए । उनको बायाँ खुट्टामा गम्भीर चोट छ । रगतले रङ्गिएको उनको त्यो जुत्ता जेन–जी विद्रोहको ’आइकन’ बन्यो र निर्वाचनमा धेरैको मन पनि तान्यो ।
अहिले प्रकाश बोहोरा लगायतका घाइतेहरूलाई समेट्नका लागि संवैधानिक समावेशी र महिला कोटाका केही कारणहरूले जटिलता देखिएको अवस्था छ । तर पार्टीका शीर्ष नेताहरूले प्रकाश बोहोरालाई उचित न्याय प्रदान गर्नेछन् भन्ने विषयमा दैलेखका मात्र नभई कर्णालीका नागरिकहरू आशावादी देखिएका छन् ।
जनेजी आन्दोलनका सबै घाइते, अपाङ्ग र सहिद परिवारको समग्र उपस्थितिका लागि रास्वपाले बिचार पुराउन सकेन भने सुरुमै पुनः असन्तुष्टिका विषयहरू बाहिर आउन सक्ने देखिन्छ ।परिस्थिति जस्तो सुकै किन नआओस् प्रकाश बोहोरा क्लस्टरमा छन् उनलाई न्याय दिनुपर्दछ । यो न्याय भनेको समग्र युवाहरूको न्याय हुनेछ ।
घाइते भएको ५ महिनापछि अस्पतालबाट डिस्चार्ज भएर वैशाखी टेक्दै चुनावी प्रचारमा हिडको विषयलाई समेत रास्वपाले नजरअन्दाज गर्दैन होला भन्नेमा उनका परिवारहरू पनि विश्वस्त देखिएका छन् भने दैलेखका युवाहरूले पनि निकै ठुलो भरोसा गरेका छन् । प्रकाश बोहोरा सँगै सूचिमा रहेका पवन शाही २३ भदौको आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेर घाइते भएका थिए । रचना खतिवडा भने २३ भदौमा भएको गोली प्रहारमा मारिएका जेन–जी सहिद रसिक खतिवडाकी आमा हुनुहुन्छ । न्यूनतम मापदण्डभन्दा फराकिलो मापदण्ड निर्माण गरेर जनेजी आन्दोलनको मर्मलाई रास्वपाले अङ्गीकार गर्नु अहिलेको आवश्यकता देखिएको छ ।
कर्णाली प्रदेशलाई जसरी हिजोदेखि विभिन्न बहानामा पछाडि पार्ने काम भएको छ । यसपालिको मतदानले पनि केही विषयहरू रास्वपाका लागि छलफल गर्नुपर्ने विषय होलान् तर समग्र कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा रास्वपाले प्राप्त गरेको समानुपातिक मत, प्रत्यक्षमा समेत आएको मतको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । आगामी दिनमा हुने स्थानीय र प्रदेश तहको निर्वाचनको विषयलाई समेत रास्वपाले मनन गरेर जानुपर्ने आवश्यकता देखिन्छ त्यसका लागि भने प्रकाश बोहराको प्रतिनिधित्व कर्णालीका लागि अनिवार्य हुनुपर्ने हो । उनको प्रतिनिधित्व आगामी दिनमा कर्णालीका लागि प्रभावकारी प्रतिनिधित्वका रूपमा अगाडी बढ्न सक्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्