ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाकै नाकमुनि निर्वाचित वामपन्थी राष्ट्रपति सेइनबामको जीवन कहानी


एबीसी न्यूज
जेष्ठ २९, २०८१ मंगलबार  १० : ४३ बजे

क्लाउडिया सन् २०१८ मा मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् : सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो

क्यालउडिया सेइनबामको ऐतिहासिक जितसँगै मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । यो जितपछि सेइनबामका सुरुवाती चुनौतीमध्ये आफ्नो राजनीतिक गुरु तथा वर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुयएल लोपेज ओब्राडोर(अम्लो)बाट अलग पार्नु रहेको छ । वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’की उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी सेइनबामले चुनावी प्रचारका क्रममा लोपेजकै उपलब्धि औँल्याउँदै तिनलाई निरन्तरता दिने बताएकी थिइन् ।

तर, विज्ञहरू सेइनबामको व्यक्तिगत पृष्ठभूमि तथा विगतका राजनीतिक ओहदामा रहँदा गरेका कामले उनको शासनकाल ओब्राडोरको भन्दा फरक हुन सक्ने बताउँछन् । ‘सेइनबामको राजनीतिक स्वभाव रणनीतिक देखिन्छ । त्यसैले उनको कार्यकाल लोपेज ओब्रेडोरको जस्तो उथलपुथलकारी हुनेछैन,’ राजनीतिक विश्लेषक ग्वाडालुप कोरेया–काब्रेराले भनिन् ।

प्राज्ञिक क्षेत्र र राजनीतिको मिश्रण
मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीकी पूर्वमेयर सेइनबामका आमाबुबा दुवै विश्वविद्यालयका प्राध्यापक थिए । उनले पनि सुरुमा आफ्ना अभिभावकलाई पछ्याउँदै प्राज्ञिक क्षेत्रलाई करिअर बनाइन् । विश्वविद्यालयमा सुरुमा भौतिक विज्ञान र पछि ऊर्जा इन्जिनियरिङ अध्ययन गरेकी सेइनबामले अमेरिकाको चर्चित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरिन् । सेइनबाम विश्वविद्यालयमा पनि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनको हालको राजनीतिक करिअरमा भने लोपेज ओब्राडोरको संगतले सुरु भयो ।

चुनावी अभियानका क्रममा जारी एक भिडियोमा आफ्नो राजनीतिक जीवनको वर्णन गर्दै सेइनबामले भनेकी छन् कि उनी र लोपेज ओब्राडोर प्रायः एउटै विरोध कार्यक्रम र अभियानमा सरिक हुने गरेको भए पनि दुईबीचको औपचारिक परिचय सन् २००० मा ओब्रोडर मेक्सिको सिटीको मेयर निर्वाचित भएपछि उनको घरमा भएको थियो । सो भेटको केही दिनपछि लोपेज ओब्राडोरले फोन गरेर उनलाई वातावरण विभागको सचिव बन्ने प्रस्ताव गरेका थिए । प्रस्तावलाई उनले सहज स्वीकार गरिन् । त्यसपछिका दशकमा उनी ओब्राडोरकी राजनीतिक सहयोगी रहँदै आफ्नो शैक्षिक र राजनीतिक करिअरलाई सँगसँगै अघि बढाइन् । सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो । गत वर्ष पार्टीको राष्ट्रपतिको उम्मेदवारी बनेपछि उनले मेयर पदबाट राजीनामा दिएकी थिइन् ।

लोकप्रिय राष्ट्रपतिको छायामा
गत वर्ष सेप्टेम्बरमा मोरेना पार्टीले उनलाई आफ्नो उम्मेदवार बनाएसँगै सेइनबाम निरन्तर राष्ट्रपति दौडको अग्रपंक्तिमा रहिन् । तर, उनको प्रचार अभियानलाई निवर्तमान राष्ट्रपतिको लोकप्रियताले ओझेलमा पा¥यो । अनलाइन मत–सर्वेक्षणकर्ता संस्था ‘मर्निङ कन्सल्टेन्सी’का अनुसार शासन अवधिभर ओब्राडोर विश्वका सबैभन्दा लोकप्रिय सत्तारुढ राज्य प्रमुखमा कायम रहे । तर, मेक्सिकोको संविधानले देशका राष्ट्रपतिहरूले ६ वर्षको एउटा कार्यकाल मात्र शासन गर्न पाउने सीमा तोकिदिएको छ, जसको कारणले ओब्राडोर यसपटकको चुनावी दौडमा भाग लिन सक्दैनथे ।

राष्ट्रपति सेइनबामलाई ‘कठपुतली’ बनाएर शासन हुन सक्ने विपक्षीले आरोप लगाएका छन् । यही महिनाको सुरुमा बिबिसीलाई दिएको एक अन्तर्वार्तामा सेइनबामले ‘आफ्नो राष्ट्रपति कार्यकाल लोपेज ओब्राडोरको दोस्रो कार्यकाल हुने भनेर विपक्षीले गर्ने गरेको आलोचना’को मतलब नगरेको जवाफ दिएकी थिइन् । लोपेज ओब्राडोरले पनि केही महिनाअघि यस आरोपको प्रतिक्रिया दिँदै ‘शक्तिशालीहरू कठपुतली नहुने’ जवाफ दिएका थिए । तथापि सेइनबामले लोपेज ओब्राडोरका कैयौँ कार्यशैली पछ्याएकी छिन् । गत मार्चमा उनले ‘राष्ट्रपति बनेमा पूरा गर्ने १०० प्रतिबद्धताहरू’को सूची जारी गरिन्, जसरी ओब्राडोरले जारी गरेका थिए ।

सेइनबामको सूचीमा ओब्राडोरका कैयौँ लोकप्रिय कार्यक्रम पनि समावेश छन् । त्यसमा गरिबी हटाउने कार्यक्रमदेखि विवादास्पद रेलमार्ग ‘माया ट्रेन’ पनि समावेश छन् । माया ट्रेन परियोजनाअन्तर्गत युकाटन प्रायद्वीप हुँदै २८ अर्ब डलरको रेलमार्ग बनाइने प्रतिबद्धता गरिएको छ । तथापि स्थानीय अभियन्ताले यसले हजारौँ वर्ष पुरानो माया सभ्यतासँग जोडिएका कलाकृति र पुरातात्विक स्थल नष्ट गर्ने चिन्ता व्यक्त गरेका छन् । लोपेज ओब्राडोरले यस परियोजनाबाट विपन्न क्षेत्रमा पर्यटक पुग्ने र तिनको आय बढ्ने भन्दै प्रतिरक्षा गर्दै आएका छन् । तर, आलोचकले भने यस परियोजनाले स्थानीयवासीको वास्तविक आय बढाउनेमा समेत आशंका व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको मुद्दा
विगतको वैज्ञानिक करिअरलाई ध्यानमा राख्दै सेइनबामले जलवायु परिवर्तनविरुद्ध बलियो अडान लिने धेरैको विश्वास छ । उनका १०० प्रतिबद्धतामा वायु, सौर्य, भूतापीय र हाइड्रोजनमा आधारित स्रोतको निर्माण गरेर ‘नवीकरणीय ऊर्जा प्रवद्र्धन’ गर्ने प्रतिबद्धता समावेश छन् । सेइनबाम जलवायु परिवर्तनसम्बन्धी सन् २००७ को रिपोर्ट लेखनमा पनि सहभागी थिइन्, जसले त्यस वर्ष नोबेल शान्ति पुरस्कार जित्न पुग्यो । तर, आलोचकहरू उनले राजनीतिक लाभका लागि वातावरणीय संरक्षणको सबाल उठाएको आरोप लगाउँछन् । उनको पार्टीले जीवाश्म इन्धन उत्सर्जनमा कटौती गर्ने कुनै योजना प्रस्ताव गरेको छैन । बरु सरकारी स्वामित्व रहेको पेट्रोलियम उद्योग पेमेक्समा थप लगानी गर्ने बताउँदै आएको छ ।

राजनीतिक विश्लेषक कोरेया–काब्रेरा सेइनबामको ‘जलवायु वैज्ञानिकको अध्ययन’ उनको परिचयको एउटा पाटो मात्र भएको बताउँछिन् । ‘उनको राजनीतिक करिअर फरक पाटो हो,’ उनले भनिन् । राष्ट्रपतिका रूपमा सेइनबामले अमेरिका तथा चीनको मार्ग पछ्याउने कोरेया–क्याब्रेराको विश्वास छ । मेक्सिको जलवायु पहलका निर्देशक एड्रियन फर्नान्डेज भन्छन्, ‘म विश्वस्त छु कि मेक्सिकोका भावी राष्ट्रपतिले जलवायु परिवर्तनलाई सम्बोधन गर्नेछिन्, किनभने यो अब एक आवश्यकता भइसकेको छ ।’

शीर्ष चिन्ता सुरक्षा
मेक्सिकोका मतदाताहरूका लागि सुरक्षा सधैँ प्रमुख मुद्दा रहन्छ । ह्युमन राइट्स वाचको मेक्सिको शाखाका अनुसन्धानकर्ता टायलर म्याटियासले सेइनबामले देशको सेना विस्तार गर्ने लोपेज ओब्राडोरको निर्णयलाई उल्ट्याउनेमा शंका व्यक्त गरे । सेनाको विस्तारले शक्तिको दुरुपयोग बढ्ने उनको चिन्ता छ । लोपेज ओब्राडोरले उनको शासनकालमा धेरै विमानस्थल र पूर्वाधार परियोजनाको सुरक्षा जिम्मेवारी सेनालाई हस्तान्तरण गरे । अदालतको चुनौतीका बाबजुद ओब्राडोरले नागरिक नेतृत्वमा रहेको ‘नेसनल गार्ड’को नियन्त्रणसमेत सेनालाई हस्तान्तरण गर्ने प्रयास गरेका छन् ।

म्याटियासजस्ता आलोचकहरू सैनिक अधिकारीले प्रायः आफ्नो शक्तिको दुरुपयोग गर्ने र देशका शक्तिशाली कार्टेल तथा अन्य आपराधिक संगठनसँग भ्रष्ट सम्बन्ध बनाउने आरोप लगाउँछन् । मेक्सिकोमा पछिल्ला पाँच वर्ष बर्सेनि ३० हजारभन्दा बढीको हत्या भएको छ । सन् २०२२ मा मेक्सिकोमा बेपत्ता मानिसको कुल संख्या एक लाख नाघेको थियो । बेपत्ता भएकामध्ये लगभग ९७ प्रतिशत मेक्सिकोको ‘लागुऔषधविरुद्धको युद्ध’ सुरु भएको वर्ष सन् २००६ देखि हराएको विश्वास गरिन्छ । लागुऔषधविरुद्धको युद्धका क्रममा सेनालाई सडकमा उतारिएको थियो । तिनले हिंसालाई सम्बोधन गर्नुको साटो झनै बढाइदिए ।

सेइनबामले चुनावी अभियानका क्रममा देशको उच्च अपराधदर सम्बोधन गर्ने योजनामा बेपत्ता भएकाहरूलाई सम्बोधन गर्ने वाचा गरेकी थिइन् । उनले ‘लागुऔषधविरुद्धको युद्ध’लाई ‘अर्थहीन, भयानक’ आदि संज्ञा दिँदै सामाजिक कल्याण कार्यक्रममार्फत अपराधको जरो नै सम्बोधन गर्ने वाचा गरेकी छिन् ।

मोरान इसाइस मेक्सिकोको कोहुइला राज्यमा बेपत्ता भएकाहरूको खोजी गर्ने स्वयंसेवकहरूको समूहको नेतृत्व गर्छिन् । सेइनबामले बेपत्ता नागरिकको खोजी प्रयासलाई नेतृत्व गरिरहेका आमाहरूको देशव्यापी प्रतिनिधिमण्डलसँग भेट्न अस्वीकार गरेकोमा इसाइस निराशा छिन् । ‘सेइनबामले हाम्रो अवस्थालाई पहिचान गरून् भन्ने चाहन्छौँ । तर, अहिलेसम्म उनले हामीलाई भेट्नसमेत मानेकी छैनन्,’ इसाइसले भनिन् । बेपत्ताको खोजी कार्यमा संलग्न सिन्थिया गुटिएरेज भने सेइनबामले खोज अभियानका लागि आशा दिन सक्ने विश्वास गर्छिन् । ‘उनी एक महिला हुन् । त्यसैले उनीमा हाम्रो अवस्थाप्रति सहानुभूति आउन सक्छ,’ गुटिएरेजले भनिन् ।

– अल जजिराका लागि लिलियन पर्लमुटरको आलेख

 

वाम झुकाव राख्ने वातावरण वैज्ञानिक मेक्सिकोकी प्रथम महिला राष्ट्रपतिका चुनौती

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com