काठमाडौ १६ कात्तिक । आईसीसी टी(२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।कीर्तिपुरको त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । ओमानले पहिला ब्याटिङ गर्नेछ । खेल ९ बजेदेखि शुरु हुनेछ । समान दुई खेलमा ४ अङ्क भए पनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।
आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्