ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईंलाई सोध्ने बाँकी प्रश्न अधुरै रहे ….


शारदा शर्मा

शारदा शर्मा :  तपाईंको मृत्युको खबर भन्न बैनीले मलाई फोनगर्दा र मोवाइलको घन्टी बज्दै गर्दा म छोरीलाई लाइब्रेरी पुर्याउन ड्राइभिंग गर्दै थिएँ । ए हो र ? भन्दै झल्याँस्स भएँ । फोन बन्द गरें । बाटोमा गाडी हुइँकिरहेका थिए, शहर आफ्नै गन्तब्यमा थियो । लाग्यो सबैलाई तपाईंसँग जान हतार छ । किनकी आज तपाईंको शरिरबाट अलि अलि रहेको सास पनि अलग भयो । सिता दाहाल नबोले पनि, थिइन् तर आज उनी भौतिक रुपमै सकिएकी थिइन् ।
खै किन हो शहरका साँगुरा गल्लीबाट मैले छोरीलाई लाइब्रेरी छोडेर स्टेरिंग घुमाएर घरमा आउने समयसम्म तपाइँसँग भेटेका पुराना दिन अनेक याद आउन थाले। मन अमिलो हुंँदै आयो । घरमा पुग्दै गर्दा भाई उजिर मगरले फोन गरेर तपाईंको बिषयमा बोल्न भने । तर म उहाँको बारेमा किताब नै बोल्छ भन्दै एबीसी अफिसमा गएर किताब लिन भनें ।  हाम्रो टेलिभिजनबाट तपाई बोलेको आवाज आइरहेको थियो । हामी दुवै जना ०६५ साला बालुवाटारको पुरानो निवासमा बसेर कुरा गरिरहेका थियौं । तपार्इं स्वस्थ तन्दुरुस्त हुनुहुन्थ्यो । युद्धको लामो अनुभव, शहर र सत्ताको थोरै अनुभव थियो त्यतिबेला । तिनै कुरा तपाईं टेलिभिजनमा बोलिरहँदा यता तपाईंको शरिरमा फूलका गुच्छाहरु चढाउन सुरु भइसकेको थियो ।

तपाईंको बोली र कुराले मेरो मन भक्कानिन थाल्यो । कतिबेला आँशु चिउँडोबाट झरिरहे पत्तै भएन । मैले बालुवाटारको त्यो कोठा मात्र सम्झिएँ । जहाँ कालो चिया खाँदै हामी टेलिभिज कार्यक्रमको लागि गफिएका थियौं । मैले धेरै अन्तरंग कुराहरु पनि सम्झिएँ । जहाँ तपाईंको सरलताले र मप्रतिको स्नेहले हामी यौटै सिरकमुनि गफिएका थियौं । त्यतिबेला पनि तपाईं प्रधानमन्त्रकी पत्नी नभएर एकजना आमाकै रुपमा प्रस्तुत हुनुभएको थियो । कैयौं त्यस्ता रातहरु थिए, जतिबेला हामी राती साढे नौ बजेसम्म कुरा गरेर गफिन्थ्यौं ।


मानिसहरु भेटभएपछि जोसँग पनि धेरै घुलमिल भइहाल्ने मेरो स्वाभाव आज पनि छैन । तर तपाईंले के सोच्नुभयो हामी र हाम्रा त्यस्ता के कुराहरु मिले एकआपसमा जसले गर्दा हामीले मन खोलेरै कुरा गथ्र्यौं ।
उमेरले तपाईं मेरो आमा जस्तै हनुहुन्थ्यो । सिता दाहाल प्रचण्डपत्नी । मैले बिम्ब मात्र सुनेको प्रचण्ड जब प्रचण्ड गर्जनमा शहर छिरेको थियो । उहाँको मनमा हामीप्रतिको धारणा पनि फरक थियो । पाका मानिस र अलि उमेर पुगेका युवायुवती । जब हामी भेट भयौं न उहाँले सोचेका जस्ता हामी थियौं, न हामीले सोचेका जस्ता प्रचण्ड नै हुनुहुन्थ्यो । त्यहाँबाट सुरु भयो हाम्रो अनौपचारिक सम्बन्ध ।
सम्बन्ध अनेक खालका हुने गर्छन् । कुनै सम्बन्ध एकपटक बन्छ, अनि बिचमा टुट्छ। कुनै सम्वन्ध बोझ बन्दै जान्छन् र समाप्त हुन्छन् । तर कुनै सम्बन्ध लामो र अबिरल टिक्ने खालका पनि हुने रहेछन् । सायद हाम्रो वेभलेन्थ मिल्यो  ? स्कुलदेखि कलेजसम्म कहिल्यै सेकेन्ड नहुने बहुआयामिक र अचम्मको जिनियस जस्तो मेरो श्रीमानको उमेर पनि प्रचण्डसँग मिल्ने पक्कै थिएन । थियो त उनको क्षमता लगनशीलता र बिषयप्रतिको निरन्तरता । शायद यही स्वभाव अंकल प्रचण्ड र शुभको बीचको कसी बन्यो कि ? वा कसैलाई नराम्रो नसोच्ने स्वच्छ मानसिकता । सायद यहींबाट सुरु भयो हाम्रो सम्बन्ध । हामी पनि शहरका ब्यापारी ठूलाघरानाका मानिस थिएनौं । सामान्य बिद्यार्थी र केही बिद्यार्थीका शिक्षक भने भैसकेका थियौं । समय चल्दै गयो । तपाईंहरु शान्ति प्रक्रियामा आएपछि, छिटै र अचम्म लाग्नेगरी सरकारमा जानुभयो । हामीले धेरैजना मानिसहरु जोडेर हण्डर र ठक्कर खाँदै मिडियाको बाटो लियौं ।

सीता अन्टी हजुरलाई हुट्हुटी धेरै कुराको थियो । कतिपय अनुशासन र गोपनियतालाई मनन गर्दै मैले हजुरसँग भएका सबै कुरा पुस्तकमै समावेश गर्न पनि सकिन । ती नितान्त पारिवारिक थिए । खै किन हो ? आफ्नै छोरीलाई जस्तो मानेर हरप्रकारका पारिवारिक कुराहरु पनि हजुरले मसँग गर्नु भयो ।
जब हामीले ती कुराको समीक्षा गर्ने समय आएको थियो, हजुर थला पर्नुभयो । मेरो मन चिमोटिंदै गयो । टेलिभिजनमा तपाइ बोल्दै हुनुहुन्थ्यो हुनुहुन्थ्यो, यता फूल चढाउने लाइनमा मानिसहरुको तँछाड मछाड थियो । तपाईंप्रति सम्मान प्रकट गर्न मानिसहरु अमिलो मन लिएर लाइनमा थिए । मन पराउने पनि थिए । मन नपराउने पनि थिए । त्यो देख्दा झनै मन झनै अमिलो बन्यो  । वास्तवमै मानिसको जीवन अचम्मको छ ।

विगततिर मन मोडिंदै गयो । मैले ओम हस्पिटलको ज्ञानु  बसेको अर्को कोठा सम्झें । जहाँ तपाइँका धेरै आफन्तहरु थिए । हामी बाहिरको बेन्चमा बसेर धेरै कुरा गर्यौ । माफ गर्नुहोला अन्टी मैले ती कुराहरु पनि सबै पुस्तकमा समेट्न सकिन । तपाइँ बिम्ब एक हुनुहुन्थ्यो तर प्रतिबिम्व अनेक थिए ।
मानिसले सिता दाहाल देखे । छोराको लागि हरेक कुरामा घुँडा टेकेकी आमा देखे । कतिले युद्धमा साथ दिने सहयात्री पनि देखे । कति सहयात्रीहरुले आफ्नो जीवन रक्षा गरिदिएको एक रक्षक पनि देखे । तर नबुझ्नेले जे देखे । जे सुने । जे जति आफ्नो बर्गतले भ्यायो त्यही देखे । तर मैले तपाइँमा अनेक सीता दाहाल एकैपटक देखें ।
एउटी दुखी आमा, नचाहँदा नचाहँदै घुँडा टेकेकी निर्वल आमा । माया गर्दागदै पनि देखाउन नसकेकी निर्वल सासु आमा । अनि युद्ध बुझेर आएकी युद्ध नायक । गाउँ बुहार्तन देखि अनेक  दुख बुझेर आएकी गाउँकी रखपाल, जस्तै अप्ठ्यारोमा पनि एउटा मास्टरलाई साथ दिएर युद्धको नायक मात्र हैन देशको प्रधानमन्त्री बन्ने अभियानकी सहयात्री, साक्षी र वास्तवमै सुपरनायिका सीता दाहाल ।


मैले हजुरसँगका कुरामा अझ धेरै भाव र भंगंलहरु देखें । यस्ता कतिपय कुरा हुने रहेछन् जुन चाहेर पनि बताउन नसकिने रहेछ । सायद पुस्तक निस्किने बेलासम्म पनि तपाईको चेत पहिले जस्तै  भएको भए त्यो पुस्तकमा तपाईंका कथा र कहानीमा किन भनेर प्रश्न गर्न पाउने थिएँ । तर तपार्इँ त्यो अवस्थाभन्दा अलिक पर पुगिसक्नु भएको थियो ।
आज त तपाईंको सास पनि छैन । निर्वल शरिरका साथ पल्टिरहनु भएको छ ।

पेटबाट खाना दिन थालेपछि म तापाईंकोमा एकपटक पनि आइन । एकपटक मेडिसिटिमा गएँ । तपाईंलाई केही थाहा थिएन । जीवन तर्न नसकेर कुनै कुराको सफलता कुरिरहेको एक जना निर्वल यात्रीजस्तै । त्यहाँ तपाईंलाई देखेर मलाई निकै गाहे भयो । चिट्चिट पसिना आयो । शरिर उभिन पनि नसक्ने जस्तो लाग्यो, शुभलाई जबर्जस्ती निस्कौं भनेर म बाहिरिएँ ।
पेरिडाँडाबाट टेलिभिजनमा लाइभ आइरहेको थियो । सहन निकै गाह्रो भयो । गंगाकी सानी छोरीले हजुरलाई हेर्दै भक्कानिंदै रुंदै गरेको दृश्य हेर्न नसकेर मैले टिभी नै बन्द गरें । अन्टी तपाईं त लामो र कठिन यात्रा तय गरेर जानु भयो । साँच्चै तपाईले जति प्रेम र अगाध माया दिएर श्रीमान्लाई छबिलालबाट प्रचण्ड बनाउनु भयो । उहाँले देशको लागि न्याय गर्नुहुन्छ या हुँदैन समयले देखाउँदै  गर्ला ।

सीता दाहालले आफ्नै बायोग्राफी पुस्तक हेर्दै शारदा शर्माका साथमा ।

तर एउटी श्रीमतीले उसको श्रीमानलाई जे गरी त्यसको भरपुर माया र सम्मान हजुरलाई अंकलले दिन कुनै कसर बाँकी राख्नु भएन । शायद तपाईंहरुको जस्तो राजनीतिक जोडीको सम्वन्धका बारे इतिहासले लामो काल सम्झना गरिनै रहनेछ ।
मनिसहरुले अनेक अनेक भने। तर तपाईको लागि अंकलले गरेको माया र प्रेम समग्र देशका हामी जस्ता महिलाका लागि उदाहरणीय बन्यो । आज प्रचण्ड गर्जन हजुरको कमाण्डबिना अलि अपुरो जस्तो महसुस भएको छ । यो मेरो मात्र कुरा हो । अरुलाई अर्कै लाग्न पनि सक्छ । यो केवल महसुस गर्ने निज निजी कुरा पनि हो ।
जसरी हजुरहरुले मलाई तिमी ज्ञानुजस्तै छ्यौ भन्नुहुन्थ्यो । मलाई थाहा छैन तपाइँकी छोरी ज्ञानु र ममा के मेल खाने कुरा थियो । लहडमा आएर अनि भावनामा बगेर भन्नुहुन्थयो या साँच्चै भन्नुहुन्थ्यो त्यो मलाई थाहा भएन । जब म तपाइँलाई सोध्न चाहन्थें, त्यो बेला तपाइँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । नढाँटी भन्दा प्रचण्ड अंकलसँग यो कुरा सोध्ने आँट म मा अझै आएको छैन । आज उहाँलाई यस्ता कुराको जवाफ दिइराख्न जरुरी पनि छैन । छोडदिऊँ यस्ता कुरा ।

किताब निस्केपछि तपाईकोमा जाँदा म को हुँ भनेर सोध्दा तपाईले शुभकी बुढी भन्नुभयो । मेरो मन कटक्क खायो । शुभकी बुढी भनेको भन्दा पनि मेरो नाम र यस्ता अनेक अन्तरंग सम्बन्धहरु हजुरले भुल्दै गरेकोमा । तर अंकलले ‘अझै त मानिस चिन्दैछिन’ भन्दै गर्दा उहाँको मुहारमा झल्केको खुशी भावले झन मलाई भित्रभित्रै विह्ल बनाएको थियो ।
समयले मानिसको परीक्षा लिने रहेछ । तपार्इं त्यो परिक्षामा फेल भएर पनि सफल हुनुभयो । एउटी औषस महिलाले गर्ने कुरा भन्दा धेरै माथिका कुराहरुको ज्ञान राखेर तपाइँले छबिलाललाई प्रचण्ड बनाउँदा सहेका दुखका पहाडहरु कसरी छिचोल्न सकिन्छ भन्ने कुरा केवल सुन्नेहरुले महसुस गर्न पक्कै पनि सक्दैनन् ।

मलाई हजुरका कुरा बारम्वार याद आइरहेको छ । भन्नुहुन्थ्यो यस्ता भर्खरका भएर पनि तिमीहरु पनि म जस्तै रहेछौ अनेक सहन सक्ने। तिमिहरुले पनि धेरै नै सुन्न परेको छ, अंकललाई सहयोग गरेकोमा हाम्रै पार्टीका हुँ भन्नेहरुबाट लखेटिनु परेको मलाई राम्ररी थाह छ   । यहींनेर आउँदा पनि म रोकिन बाध्य भएँ । हजुरले संकेत गरेका व्यक्तिका स्वाभाव र प्रवृितहरु आज पनि उस्तै छन् ।
म हजुरलाई अन्तिम बिदाइ गर्न पशुपति गएँ । त्यहाँ पुगेका हजारौं शुभचिन्तकहरुको हातमा फुल थियो । तपाइँ निर्वस्त्र पल्टिनुभएको थियो । फुलैफुलले ढाकेको बग्गीमै सुताउँदा पनि हजुर प्रतिक्रिया जनाउने ठाउँमा हुनुहुन्थेन ।
मानिसहरुको मन भित्र के चलिरहेको थियो खै ? तपाइँको बिदाइमा अनेकथरी मानिसहरु गएका थिए । पैसाले जीवन देखेकाहरुदेखि जीवनले पैसा देखाएकाहरु, संघर्ष र दुखका कथा बोकेका अनि दुखले नै साम्राज्य खडा गरेका सफल असफल, सामान्य असामान्य । हरेक प्रकारका मानिसको लर्को थियो । तपाइँ न त केही बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो, न नमस्ते फर्काउन सक्नेमा हुनुहुन्थ्यो । न दुख बिसाउन सक्ने त्यो भावना व्यक्त नै हुन सक्थ्यो । मेरो टाउको फुट्ला जस्तो भयो । तपाइँका सबै सन्तान उपस्थित थिए । मलाई  धेरै गाह्रो भयो ।
अन्टी जीवनको महासंग्राम तर्न तपाइँले जसरी प्रयत्न गर्नुभयो, तपाइँको साथ र सहयोगले मजबुत बनेको तपाइँको सहयात्री बर्तमान प्रधानमन्त्री प्रचण्ड,  प्रचण्ड बन्ने कोशिस गर्नुहुन्थ्यो । तर जब सहयात्राको साथ लत्रिएको थियो, उहाँभित्र चोटका खतहरु सुक्न नपाउँदै तपाईको महाप्रस्थानले  मनभित्रको घाउ झन आलो बनेको थियो भन्ने कुरा उहाँको अनुहारमा सबैले बुझ्नगरी छचल्किएको थियो । नचाहेर पनि आँखाबाट सम्बन्ध र सहयात्रा बर्सिनथाल्थ्यो । मानिस न हो त्यो चट्टान जस्तै बन्न किन नखोजोस् । जिम्मेवारीले भावनालाई कमजोर बनाउन सक्दैन भन्ने कुरा आदर्श मात्र हो । सायद तपाइँले दिएको मजबुत साथ नभएको भए त्यो साख पशुपतिमै अलि बढी नै फिसलिने थियो । तर आँखा बसिए पनि साख मलिन हुन पाएन, त्यही नै तपाइँको साथ र समर्पणको प्रतिविम्व हुनु पर्दछ । तपाइको आँट र भरोसा तथा सावधानीले उहाँलाई दुनियाकै अग्लो मानिस बनाएको थियो भन्दा बढी हुँदैन   । मानिसको भिडमा तपाइँ जीवन र दर्शनका अनि पार्टी र क्रान्तिका परिवार र प्रचण्डका बाँकी कुरा सुनाउन नपाउँदै फूलले सजिंदैगर्दा अनेक कुराहरु मनमै दवाएर मैले पनि एक थुंगा फुलले अन्तिम बिदाइ गरें ।

–हार्दिक श्रद्धान्जली । अल विदा अन्टी ।

सीता दाहालको संक्षिप्त भिडियो बायोग्राफी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com