काठमाडौं, १ असार । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने बारे आज बहस हुने भएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्नेछन् ।
न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ । त्यसैले आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जवाफी बहस गर्ने छन् ।
त्यसपछि जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्छ ।
शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने हुने छैन । थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझै फरार छन् ।
प्रतिक्रिया दिनुहोस्