काठमाडौँ, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन् । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अधोगतिप्रति अब आफूहरू मौन रहन नसक्ने बताएका हुन् ।
“नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छाडेर पनि गएनौँ । तर, नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ,” शाहले जारी गरेको सन्देशमा उल्लेख छ ।
देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिार पर्न थालेको उनले बताएका छन् ।
यस्तै, देश जोगाउनका लागि राजनीतिक दलहरू र राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्न विलम्बन गर्न नहुने पनि सन्देशमा उल्लेख गरेका छन् ।
“अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्याका लागि विलम्ब गर्न हुँदैन,” सन्देशमा भनिएको छ ।
विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागतयोग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको उनले टिप्पणी गरेका छन् ।
विगत बिस वर्षमा दशौँ लाख युवाहरू विदेश पलायत र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक अवसरबारे आगामी उज्यालो भविष्यका लागि राष्ट्रिय बहस जरूरी भएको पनि उनले उल्लेख गरेका छन् ।
“देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचयसहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएका भान होला । तर, कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकाले अप्रिय बाटो रोज्न बाध्य छन्,” सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्