काठमाडौँ, ३ फागुन । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । पार्टी नेतृत्वले नै सहमतिका आधारमा नेतृत्व चयन गर्न जोड दिएपछि संगठनका नेताहरू पनि सहमतिका लागि प्रयासरत छन् ।
सहमति जुट्न नसकेको अवस्थामा भने बुधबार नै निर्वाचन प्रक्रिया सुरू हुने जनाइएको छ । अनेरास्ववियूको २३औँ राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
निवर्तमान कमिटी मंगलबार नै भंग गरेर अध्यक्ष मण्डलको घोषणा गरिसकेको छ । भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।
महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ८० प्रतिनिधि आएका छन् । महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्ने छ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।
अनेरास्ववियूको भावी नेतृत्वका लागि आरसी लामिछानेलगायत ५ जना आकांक्षी छन् । उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन् ।
सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको निवर्तमान अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्