रूपन्देही, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । फागुन १० गतेभित्र अँध्यारोमा आएर नभइ दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने र भत्काएरै छाड्ने थापाले घोषणा गरेका छन् ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दाबी गरेका हुुन् ।
महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको वर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे ।
उनले निर्वाचन अगागि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैराश्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेटअनुसार सत्ता गठबन्धन अगाडि बढ्नुपर्ने बताए ।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्