काठमाडौँ, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आउँदै छन् ।
परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन् । भ्रमणका कम्रमा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन् । उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुने छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्रा सोमबार बिहान साढे १० बजे काठमाडौँ उत्रने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई भेट गर्ने छन् ।
विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलोपटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौँ आउन लागेका हुन् ।
क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए । गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्