काठमाडौँ, २८ माघ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् ।
शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफूलगायतका नेताहरूले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन् ।
उनले विवेकशील साझा पार्टीका नेताहरू अहिले धेरैजसो दलमा रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको बताइन् । उनले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताइन् ।
उनले भनिन्, “अहिले विवेकशील साझाका नेताहरू कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ । यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्नेजस्तै नेताहरू उत्पादन गर्ने फ्याक्ट्री रहेछ । कैयौँले पूर्वअध्यक्षलाई गाली गरौँ भने तर केही गर्नुपर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठुलो झापड हो । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थपित गर्छ । त्यो सबैभन्दा ठुलो झापड हो । गाली गर्नै पर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरूरी छ ?”
महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने उनले बताइन् ।
अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनै सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्