काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षक एवम् लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफू प्रष्ट रहेको बताए ।
उनले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताएको माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरूङले हालै सम्पन्न स्थायी सतितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै पार्टी स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पारेका थिए ।
उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए । दुई महिने संगठनात्मक असभयानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी संगठन विस्तार गर्ने छन् । अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ ।



















प्रतिक्रिया दिनुहोस्